Friday, April 17News That Matters

जन्तेढुंगा गाउँपालिकाका पशुचौपायामा लम्पी स्किन रोग फैलियो

सांकेतिक तस्विर

खोटाङ, चैत २८ । खोटाङको जन्तेढुंगा गाउँपालिका क्षेत्रका पशुचौपायामा लम्पी स्किन रोग देखा परेको छ । जन्तेढुंगा गाउँपालिकाका ६ वटै वडाका किसानले पालेका पशुचौपायामा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिने रोग देखिएको हो ।

भारतबाट २०७७ सालमा मोरङ हुँदै हाल देशका सबैजसो ठाउँमा लम्पी स्किन रोग फैलिएको बताइएको छ । बिशेष गरी यो रोग ठुला पशुचौपाय गाई, गोरु, भैंसी, राँगोमा देखा पर्ने विज्ञहरुको भनाइ छ । गाई भैंसीमा लागेको उक्त रोगको समस्या लिएर करिब सय जना किसान जन्तेढुंगा गाउँपालिकाको कार्यालयमा आइसकेको पशु सेवा शाखा प्रमुख डा. सुशन ढकालले बताउनुभयो ।

गत माघ मसान्तदेखि गाउँपालिका क्षेत्र भित्रका पशुचौपायामा लम्पी स्किन रोग देखा पर्न थालेको उहाँको भनाइ छ । हालसम्म लम्पी स्किन रोगको ठोस उपचार र भ्याक्सिन विकास नभएकाले लक्षण अनुसार औषधि उपचारको व्यवस्था मिलाइएको डा. ढकालको भनाइ छ ।

लम्पी स्किन रोग लाग्दा पशुचौपायामा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्रि तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाइरहेको हुने, दुव्लाउँदै जाने, खुट्टा खोच्याउने, दुध उत्पादन घट्ने लगायतका लक्षण देखिन्छन् । लामखुट्टे, भुसुना, झिंगा आदिको टोकाईबाट सर्ने यो रोगले पशुचौपाया मर्ने सम्भावना भने कमै मात्रामा हुने डा. ढकाले बताउनुभयो ।

लम्पी स्किन रोगको प्रकोप जन्तेढुंगा गाउँपालिकासँगै जिल्लाका अन्य ठाउँमा पनि फैलिएको हुन सक्ने अनुमान गरिएको छ । तर सम्बन्धित पालिकासम्म किसान यस्तो समस्या लिएर आएका छैनन् ।