
खोटाङ, चैत २८ । खोटाङको खोटेहाङ गाउँपालिकामा छुवाछुत अन्त्यका लागि सहभोजको आयोजना गरिएको छ । वडा नम्बर १ लिकुवापोखरी र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ लिकुवापोखरीको संयुक्त आयोजनामा सोमबार सहभोजको आयोजना गरी सबैले एकै ठाउँमा सँगै बसेर खाना खाएका छन् ।
देशमा जातीय विभेद विरुद्धमा कानून बनेता पनि व्यवहारमा अझै लागू नभएका कारण छुवाछुतमुक्त समाज निर्माणमा टेवा पु¥याउन सहभोजको आयोजना गरिएको बताइएको छ । ‘दलित समुदायले छोएको खान हुन्न’ भन्ने अन्धबिश्वास तोड्ने प्रयास स्वरुप सर्वसाधारणदेखि गाउँपालिका अध्यक्ष उदिमबहादुर राई, उपाध्यक्ष रुपेश राई, प्रमुख प्रशासकीय अधिकृत अजम्बर राई लगायतको सहभागीतामा सहभोज गरिएको युवराज कालिकोटेले बताउनुभयो । सहभोजमा विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका पालिका तथा वडा स्तरिय नेता, शिक्षक, कर्मचारी, बुद्धिजिवी, सर्वसाधारण दलित र गैर–दलित गरी १५० जनाको सहभागीता रहेको उहाँको भनाइ छ ।
यसैबिच, सोही कार्यक्रममा गाउँपालिकाले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघलाई पञ्चेबाजा हस्तान्तरण गरेको छ । लोपोन्मुख बनेको पञ्चेवाजाको संरक्षण प्रयास स्वरुप गाउँपालिकाले संघलाई पञ्चेबाजा हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।
