Friday, April 17News That Matters

रावाबेसी गाउँपालिकामा ५११ जनाको निःशूल्क स्वास्थ्य परिक्षण तथा उपचार

स्वास्थ्य परिक्षण गराउदै नागरिकहरु

खोटाङ, वैशाख ६ । खोटाङको रावा बेसी गाउँपालिवासीले निःशूल्क स्वास्थ्य परिक्षण गराएका छन् । गाउँपालिकाले काठमाण्डौं मेडिकल कलेजसँगको सहकार्यमा आयोजना गरेको स्वास्थ्य शिविरमा पालिकावासीले निःशूल्क स्वास्थ्य परिक्षण गराएका हुन् ।

गाउँपालिकाको केन्द्र हरमटारमा बुधबार भएको स्वास्थ्य शिविरमा ५ सय ११ जनाले सेवा लिएका छन् । सेवा लिनेहरुमा २ सय ६५ महिला र २ सय ४६ जना पुरुष रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कौसल अधिकारीले जानकारी दिनुभयो ।

उनिहरुको जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसीक तथा नशा रोग, हाडजोर्नी, छाला रोग, नाक, कान, घाँटी तथा आँखा रोग, दन्त रोग, ईसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट, मिर्गौला रोग र मुटु रोग गरी १४ प्रकारका रोगहरुको उपचार तथा पहिचान गरिएको छ ।

रोगको सामान्य अवस्थामा रहेका सेवाग्रहीहरुको शिविरमै उपचार गरिएको छ । जसका लागि शिविरमा औषधिको व्यवस्था गाउँपालिकाले गरेको थियो । रावा बेसी गाउँपालिकाका सबै भूगोलसँगै छिमेकी पालिका ऐँसेलुखर्क गाउँपालिकाका नागरिकलेसमेत शिविरमा स्वास्थ्य सेवा लिएका छन् ।

निःशूल्क स्वास्थ्य शिविरमा उपस्थित सेवाग्राहीको भिड

ज्येष्ठ नागरिकदेखि बालबालिकासम्मले सेवा लिएको निःशूल्क स्वास्थ्य शिविरमा गाउँपालिकाका स्वास्थ्यकर्मीसँगै काठमाण्डौं मेडिकल कलेजबाट आएका २६ जना चिकित्सकको टोली खटिएका थिए । सामान्य रोगको शिविरमै औषधि उपचार गरिएको र जटिल रोग देखा परेकाहरुलाई काठमाण्डौं मेडिकल कलेजमा शल्यक्रियासहितको निःशूल्क उपचार गर्ने गरी सम्झौता भएको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताउनुभयो । काठमाडौं लगेर उपचार गर्नुपर्ने जटिल रोगहरु पहिचान भएकाहरुको अध्ययन चिकित्सकको टोलीले गरिरहेको उहाँको भनाइ छ ।

‘शिविर भन्नाले सबै रोग यहि निको हुन्छ भनेर बुझ्नु हुँदैन, यहाँ परिक्षण मात्र गरिएको हो । सामान्य रोग देखिनेहरुको यहि उपचार गरिएको छ ।’ उहाँले भन्नुभयो,‘अब जटिल रोग देखिएकाहरुको काठमाण्डौं मेडिकल कलेजमा निःशूल्क उपचार हुन्छ ।’

शल्यक्रिया लगायत अस्पतालमा गरिएको उपचार निःशूल्क हुँदा बाहिर खरिद गर्ने औषधी स्वयं ब्यक्तिले गर्नु पर्ने सम्झौता भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । तर काठमाडौंसम्म आवतजावत एवम् औषधि खरिद गर्न नसक्ने आर्थीक अवस्था भएकाहरुलाई गाउँपालिकाले उक्त व्यवस्था गरिदिने उहाँले बताउनुभयो ।

स्वास्थ्य परिक्षण तथा उपचार गर्दै चिकित्सकहरु