खोटाङ, वैशाख ७ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट खोटाङ जिल्लास्तरीय भलिबल टिममा रावा बेसी गाउँपालिकाका ४ जना खेलाडी छनोट भएका छन् । ४ जना मध्ये ३ जना वडा नम्बर १ कुभिण्डेका रहेका छन् । गत चैत २८ देखि वैशाख १ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय छनोटबाट एउटै पालिकाका ४ जना खेलाडी छनोटमा परेका हुन् ।
वैशाख ११,१२ र १३ गते सुनसरीको इटहरीमा प्रदेशस्तरीय छनोट प्रतियोगिता हुँदैछ । जसकालागि जिल्लास्तरीय छनोट खेलमा भलिबल छात्रतर्फ ९ जना छनोट भएका छन् । ९ जनामा रावा बेसी गाउँपालिकाका ४ जना, हलेसी तुवाचुङ नगरपालिकाका २ जना, दिप्रुङ चुइचुम्मा, साकेला र केपिलासगढी गाउँपालिकाका १÷१ जना रहेका छन् ।
छनोट हुने खेलाडीहरु सन्तोष पाण्डे (रावाबेसी–४), दिनेश भुजेल, केशव भुजेल र सविन श्रेष्ठ (रावाबेसी–१), किशन कटुवाल र धगिन्द्र राई (हलेसी तुवाचुङ), इश्वर विश्वकर्मा (दिप्रुङ चुइचुम्मा), कविराज खत्री (साकेला) र किरण तामाङ (केपिलासगढी) रहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।