
खोटाङ, वैशाख ७ । स्थायी शिक्षक भएको अवसरमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा ठाडोफुलेलीकी सर्मिला राईले गाउँमा स्थापना गरिएको स्वास्थ्य उपचार यातायात खर्च कोषमा २५ हजार सहयोग गर्नुभएको छ । यातायात खर्च अभावमा स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने अवस्थाका घाईते तथा बिरामीको सहयोगका लागि स्थापना गरिएको कोषमा राईले २५ हजार सहयोग गर्नुभएको हो ।
२३ घरको देउसीभैली कार्यक्रमबाट संकलन भएको २५ हजारबाट ठाडोफुलेलीमा २०७९ सालमा खालिङ राई विपद व्यबस्थापन कोष स्थापना गरिएको हो । शिक्षिका राईले २५ हजार सहयोग गरेसँगै अहिले कोषमा ५० हजार पुगेको कोषका अध्यक्ष मुगाधन राईले जानकारी दिनुभयो । अध्यक्ष राई, कोषाध्यक्ष कला राई, सचिव गंगा साम्पाङ, रोक्तोकोम महिला समुहकी उपाध्यक्ष जैमती राई लगायतलाई चेक हस्तान्तरण गर्नुभएको हो ।
गाउँकै जनचेतना आधारभुत विद्यालयको प्रधानाध्यापकमा कार्यरत शिक्षिका राई शिक्षक सेवा आयोग उत्तिर्ण गर्दै स्थायी दरबन्दीमा सिफारिस भएर हाल खोटेहाङ गाउँपालिकाको सप्तकन्या अधारभुत विद्यालयमा सिफारिस हुनुभएको छ । उहाँ बुईपाका खालिङ राई समुदायबाट पहिलो स्थायी सरकारी महिला कर्मचारीसमेत बन्नुभएको बताइएको छ । उक्त खुशीयालीमा शिक्षिका राईलाई आफन्तले अबिर लगाएर बधाईसमेत दिएका छन् ।
स्थायी बन्न सफल भएको अवसरमा आफ्नो समुदायको उन्नती तथा कोषले लिएको उद्धेश्यको सफल कार्यान्वयनका लागि नगद सहयोग गरेको शिक्षिका राईले बताउनुभयो । ‘यातायात खर्च अभावमा बिरामीले ओछ्यानमै छटपटाउन नपरोस् र समयमै स्वास्थ्य संस्थासम्म पु¥याएर उपचार गरी बचाउन सकियोस्’ भन्ने लक्ष्यका साथ कोष स्थापना गरिएको कोषका अध्यक्ष राईले बताउनुभयो ।
वडाभित्रको स्वास्थ्य संस्थामा लैजानु पर्ने अवस्थामा दुई हजार पाँच सय, जिल्लाभरीको स्वास्थ्य संस्थामा लैजानु पर्ने अवस्थामा १० हजार र जिल्ला बाहिरको स्वास्थ्य संस्थामा लैजानुपर्ने अवस्थामा ३५ दिनका लागि बिनाव्याज २५ हजारसम्म यातायात खर्च उपलव्ध गराउने व्यवस्था छ । हालसम्म कोषबाट पाँच जनाले सेवा लिइसकेका छन् ।
कोषको रकम १० लाख पु¥याउने लक्ष्य राखिएको अध्यक्ष राईको भनाइ छ । हाल यातायात खर्च मात्र उपलव्ध गराउँदै आएको कोषले रकम बृद्धि हुँदै जाँदा उपचारमा समेत सहयोग गर्ने लक्ष्य लिएको छ ।
