
खोटाङ, वैशाख १२ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गुल्म हे. क्वा. हलेसी खोटाङले शुभद्रा मदन फाउण्डेशनलाई सम्मान गरेको छ । गुल्मको १३ औँ स्थापना दिवसको अवसरमा मंगलबार फाउण्डेशनलाई शैक्षिक सामाग्री प्रदान गर्दै सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विश्व कुमार भट्टराईले फाउण्डेशनका कार्यकारी निर्देशक सुर्य राईलाई सम्मानस्वरुप शैक्षिक सामाग्री हस्तान्त्रण गर्नुभएको हो । फाउण्डेशनले शिक्षा क्षेत्र तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै सम्मान गरिएको हलेसी खोटाङ गुल्मपति कृष्ण बहादुर बममे बताउनुभयो ।
२०६१ सालमा स्थापना भएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालन भइरहेको शुभद्रा मदन फाउण्डेशनमा कक्षा १–१२ सम्म पठनपाठन हुँदै आएको छ । जीवन उपयोगी एवं ब्यबहारिक शिक्षा प्रदान गर्दै आएको फाउण्डेशनमा ५२ जिल्लाका १ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । हाल देशका विभिन्न विद्यालयदेखि संघ संस्थाहरुको भ्रमणको प्रमुख गन्तव्य शुभद्रा मदन फाउण्डेशन बनिरहेको छ । देशका विभिन्न विद्यालय, स्थानीय तह, प्रदेश तथा संघीय मन्त्रालय, विभिन्न संघ संस्थाहरु लगायत दैनिक रुपमा भ्रमण गर्न फाउण्डेशनमा आउने गरेको कार्यकारी निर्देशक राईले बताउनुभयो ।
