
खोटाङ, वैशाख १५ । खोटेहाङ गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ सभापोखरी गाउँपालिका–३ संखुवासभा र महिलातर्फ रामप्रसाद राई गाउँपालिका–८ भोजपुरले जितेका छन् । गाउँपालिकाको छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको अध्यक्ष कप अन्तरपालिका वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि उक्त दुई टिमले आफ्नो पोल्टामा पारेका हुन् ।
खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित सावाकाली माध्यमिक विद्यालयको प्रांगणमा मंगलबारबाट सुरु भएको अध्यक्ष कपको समापन शुक्रबार गरिएको हो । २६ टिम सहभागि पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको सभापोखरी–३ ले नगद १ लाख १५ हजारको साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको दोस्रो हुने टिम रामप्रसाद राई गाउँपालिका–५ भोजपुरले नगद ७० हजारको साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।
सेमिफाइनलिस्ट २ टिम भोजपुरको आमचोक गाउँपालिका-२ र ३ ले नगद ३५/३५ हजारको साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
महिलातर्फको प्रथम टिम रामप्रसाद राई–८ ले नगद ७५ हजार, दोस्रो हुने टिम भोजपुरकै आमचोक गाउँपालिका–९ ले नगद ४० हजार र दुवै टिमले ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सेमिफाइनलिस्ट २ टिम बराहपोखरी गाउँपालिका–४ फाक्टाङ र खोटेहाङ गाउँपालिका–१ लिकुवा पोखरीले नगद २५/२५ हजारको साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विद्यागतमा पुरुषतर्फको सर्वोत्कृष्ट सभापोखरीका दिलबहादुर विष्ट, उत्कृष्ट लिफ्टर सभापोखरीकै गजेन्द्र राई र उत्कृष्ट स्पाइकरमा रामप्रसाद राई गाउँपालिकाका दिनेश तामाङ भएका छन् । महिलातर्फ सर्वोत्कृष्टमा रामप्रसाद राई गाउँपालिकाका ममता राई, उत्कृष्ट लिफ्टरमा रामप्रसाद राई गाउँपालिकाकै मनकला राई, र उत्कृष्ट स्पाइकरमा आमचोकका आरुशा तामाङ भएका छन् । उनिहरुलाई नगद ५/५ हजारका साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिताको अनुशासित २ टिम पुरुषतर्फको खोटेहाङ गाउँपालिका–३ सावाकटहरे र महिलातर्फको बराहपोखरी गाउँपालिका–४ फाक्टाङलाई नगद ५/५ हजारका साथमा ट्रफी,मेडल र प्रमाणपत्रले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । विजेता टिम र विद्यागत खेलाडीहरुलाई पुरस्कार गाउँपालिका अध्यक्ष उदिम बहादुर राई, उपाध्यक्ष रुपेश राई, प्रमुख प्रशासकीय अधिकृत अजम्बर राई र विभिन्न वडाका वडाध्यक्षहरुले प्रदान गरेका हुन् ।
