Saturday, July 27News That Matters

ठेकेदारको बिरोध गर्दै सांसद राईको नेतृत्वमा महुरेमा चक्का जाम

खोटाङ, वैशाख १७ । सडक कालोपत्रे काममा ढिलासुस्ती भएको भन्दै ठेकेदार विरुद्ध सांसदको नेतृत्वमा चक्का जाम गरिएको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङस्थित महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र पारेको भन्दै प्रदेश सांसद पाँचकर्ण राईको नेतृत्वमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीय नागरिकले आइतबार बिहान चक्का जाम गरेका छन् ।

दुई खण्डमा विभाजन गरेर कालोपत्रको कामे सुरु गरिएको महुरे–फोक्सिङटार सडकखण्डको काम लामो समयदेखि अलपत्र छ । अलपत्र सडक कालोपत्रेको अवरुद्ध काम तत्काल सुचारु गराउनुपर्ने माग राख्दै सांसद राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, वडाध्यक्षहरु लगायत स्थानीयले चक्का जाम गरेका हुन् । सगरमाथा राजमार्ग र मध्यपहाडी लोकमार्ग जोडिएको महुरेमा सांसद राई लगायतले सडकमै बसेर डेढ घण्टा चक्का जाम गरेका थिए ।
काम गर्छु भनेर सधै ढाटिरहने ठेकेदार सडक कालोपत्रेको काम अलपत्र पारेर हिँडेकाले विरोधमा चक्का जाम गर्नुपरेको सांसद राईले बताउनुभयो । वैशाख भित्र निर्माण स्थलमा फर्किएर ठेकेदारले काम गर्न सुरु नगरे जेठको पहिलो हप्ताबाट आमहड्ताल गर्ने सांसद राईको चेतावनी छ ।

महुरे–फोक्सिङटार सडकको दुई खण्डमध्ये महुरे–राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन÷सिद्धीशाही जेभी र सिमपानी भञ्ज्याङ–फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले लिएको छ । शाहीले २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने शर्तमा २०७३ असार ३० गते सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । थपिएको म्याद २०८० असार मसान्तमा सकिने छ । तर गत पुसबाट निर्माण स्गलदेखि सामान लिएर निर्माण कम्पनी बेपत्ता छ । निर्माण कम्पनीका मुख्य ठेकेदार दिपेन्द्र बहादुर शाही नेपाली कांग्रेस डोल्पाका सभापतिसमेत रहेको बताइएको छ ।

यस्तै, देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले ठेक्का लिएको सिमपानी भञ्ज्याङ–फोक्सिङटार (२७ किलोमिटर) खण्डको काम पनि अलपत्र छ । यस निर्माण कम्पनीका मुख्य ठेकेदार मदन अधिकारी नेकपा एमालेमा पहुँच राख्ने बताइन्छ ।
हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे महुरे–फोक्सिङटार सडकले स्थानीय र यात्रुलाई सधै सास्ती दिइरहेको छ । सडक कालोपत्रे हुन ठेक्का लागेको कुराले हर्षित स्थानीय ठेकेदारको बमदासीले आजित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *