Tuesday, March 18News That Matters

डिकुवाको दुर्गम क्षेत्र रातमाटेमा शहरी स्वास्थ्य केन्द्र


खोटाङ, वैशाख २१ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको दुर्गम क्षेत्र रातमाटेमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । बिहिबार नगरपालिकाका मेयर विमला राई र उपमेयर रमेश कुमार राउतले भवनको उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटनसँगै बिहिबार बाटै स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरेले जानकारी दिनुभयो । खोप केन्द्रको भवनलाई अपग्रेड गरेर आधारभुत स्वास्थ्य उपचार सेवा प्रदान गरिएको उहाँको भनाइ छ । हाल एक जना अहेव खटाइएको रातमाटे शहरी स्वास्थ्य केन्द्रमा आवश्यकताका आधारता जनशक्ति थप्ने नगरपालिकाले जनाएको छ ।

गाउँमै आधारभुत स्वास्थ्य उपचार पाउने भएपछि सामान्य स्वास्थ्य उपचारका लागि करीब तीन घण्टाको बाटो हिडेर दाम्ली पुग्नु पर्ने समस्याको अन्त्य भएको भन्दै स्थानीय खुशी भएका छन् । डिकुवाको साविक १,२ र ३ नम्बरका स्थानीयले उक्त केन्द्रबाट स्वास्थ्य उपचार सेवा लिने छन् ।

यस्तै, डिकुवाको भूगोल ठुलो भएकाले नागरिकलाई सास्ती भएको भन्दै साविक ७,८ र ९ का नागरिकलाई स्वास्थ्य उपचारमा सहज हुने गरी छुङपाङमा शहरी स्वास्थ्य केन्द्रको भवनको शिलान्यास पनि बिहिबार नै गरिएको घिमिरेले बताउनुभयो ।

डिकुवाको रातमाटेसँगै राजापानीको भाडबेँसी र आहाले, अर्खौलेको नवलपुर, दुर्छिमको हैदे र बाहुनिडाँडाको झाप्पामा गरी हालसम्म हलेसी तुवाचुङ नगरपालिकाले ६ वटा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरिसकेको छ ।

बिहिबार भएको भवन उद्घाटन र शिलान्यास कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठी, डिकुवाका वडाध्यक्ष देवेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।