Friday, April 17News That Matters

बाहुनीडाँडा वडा कार्यालयको आरसिसि भवन शिलान्यास

खोटाङ, वैशाख २९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको वडा कार्यालय भवन शिलान्यास गरिएको छ । हाल वडा कार्यालय भाडाको कोठाबाट सञ्चालन भइरहेको छ । वडाको आफ्नै भवन निर्माणका लागि शुक्रबार वडाध्यक्ष रुद्रकुमार राईले भवनको शिलान्यास गर्नुभएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाको चालु आर्थीक वर्ष २०७९/०८० को समपुरक बजेटबाट चार वटा वडा कार्यालयका भवन निर्माण भइरहेका छन् । १ करोड ९ लाख ७९ हजारमा वडा नम्बर १ बाहुनीडाँडा, २ डिकुवा र ३ च्यास्मिटारको भवन निर्माणको जिम्मा ओजास निर्माण सेवा ललितपुरले लिएको छ । डिकुवा र च्यास्मिटारको भवन शिलान्यान भएर धमाधम निर्माण भइरहेको छ ।

बाहुनीडाँडाको भवन शुक्रबार शिलान्यास भएसँगै निर्माण प्रक्रिया अघि बढेको निर्माण कम्पनीले जनाएको छ । ३ वटै वडाको १ तले आरसिसि भवन निर्माण हुने वडाध्यक्ष राईले बताउनुभयो । ५४ लाख ९८ हजारमा निर्माण भइरहेको वडा नम्बर ७ महादेवस्थानको वडा कार्यालयको भवन भने २ तले हुनेछ । ४ वटै वडा कार्यालयको भवन निर्माणको काम आगामि असार मसान्तसम्ममा सक्ने गरी सम्झौता भएको नगरपालिकाले जनाएको छ ।

साविक बाहुनीडाँडा गाउँ विकास समितिको भवनबाट सञ्चालन भइरहेको वडा नम्बर १ बाहुनीडाँडाको भवन जीर्ण भएपछि गत माघमा भत्काइएको वडाध्यक्ष राईले बताउनुभयो । एउटा कोठामा वडा कार्यालय र एउटा कोठामा बाहुनीडाँडा स्वास्थ्य चौकी सञ्चालन गरिएको थियो । भवन भत्काएपछि हाल वडा कार्यालय मासिक ५ हजार भाडा तिरेर बिन्द्रधन राईको घरको एउटा कोठामा सञ्चालन भइरहेको छ ।

साघुँरो कोठाबाट वडा कार्यालय सञ्चालन भइरहदा सेवा प्रदानमा समस्या भइरहेको वडा सचिव नारायण आचार्यले बताउनुभयो ।