Friday, April 17News That Matters

प्राविधिक र अडिट खर्चका नाममा रकम झ्वाम, योजना फछ्र्यौट भएको तीन वर्ष पुग्दा शौचालय अधुरै

२०७७ सालमै फछ्र्यौट भइसकेको तर सञ्चालनमा नआएको पञ्चावतीदेवी प्राथमिक विद्यालयको शौचालय

राजकुमार भट्टराई (सरगम)

खोटाङ, वैशाख ३१ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित पञ्चावतीदेवी प्राथमिक विद्यालयको शौचालय निर्माणको काम सम्पन्न नभइ भुक्तानी भएको पाइएको छ । विद्यालयमा शौचालय नहुँदा विद्यार्थी अहिले पनि पाखा भित्तामा दिसापिसाब गर्न बाध्य छन् । तर शौचालय निर्माण सम्पन्न गरेको भनेर विद्यालयले २०७७ सालमै रु १५ लाख पैसा लगिसकेको छ ।

२०७२ सालमा गएको भुकम्पले क्षति गरेका विद्यालयका संरचना पुनर्निर्माण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई–शिक्षा कार्यालय करीब ०७४ सालदेखि दिक्तेलमा बसेको थियो । सोही कार्यालयको रु १५ लाख बजेटबाट पञ्चावतीदेवी प्रा.वि बाहुनीडाँडाको शौचालय निर्माण गर्ने गरी १३ असार २०७६ मा सम्झौता भएको देखिन्छ । बाहिर पानीको धारासहित तीन कोठे शौचालय २१ असार २०७७ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सम्झौता मिति अनुसार नै काम सम्पन्न गरेको भनेर ३० असार २०७७ मा फछ्र्यौट पनि भइसकेको छ ।

पुनर्निर्माणको जिल्ला आयोजना कार्यान्वयन इकाई–शिक्षा कार्यालयका प्राविधिक चेतराज सिवाकोटीले अनुगमन गरेर शौचालय निर्माण सम्पन्न भएको मुल्याङ्कन गरेपछि कार्यालयले फछ्र्यौट गरेर सबै भुक्तानी दिइसकेको छ । तर योजना फछ्र्यौट भएको ३ वर्ष पुग्न लाग्दा पनि शौचालयमा धारा जडान गर्न, बाहिरी भागमा मार्बल लगाउन लगायतका काम बाकी नै छ । शौचालयको एकापट्टिको भाग चर्किएर चिरा चिरा भएको छ । शिक्षकहरु दिसापिसाब गर्न विद्यालय नजिकै रहेका अभिभाबकको घरमा जाने गरेका छन् । विद्यार्थी भने विद्यालय वरिपरीका पाखा भित्तामा दिसापिसाब गर्न बाध्य छन् ।

नियम बिपरित शौचालयको ठेक्का

तत्कालिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई–शिक्षा कार्यालय खोटाङको नियम अनुसार विद्यालयलाई परेको संरचना स्वयं विद्यालयको व्यवस्थापन समितिले निर्माण गर्नु पर्ने थियो । ठेक्का प्रक्रिया अर्थात उपभोक्ता समितिमार्फत विद्यालयको संरचना निर्माण गर्न नपाइने नियम थियो । तर पञ्चावतीदेवी प्राथमिक विद्यालयले गिटि ल्याउने र घडेरी सम्याउने काम गरेर शौचालय निर्माणको अन्य काम स्थानीय बेलकुमार राईलाई जिम्मा दिएको पाइएको छ । शौचालय निर्माणको अवधिमा बिरेन्द्र थामा र बिन्द्रधन राई दुई जना पालैपालो प्रधानाध्यापक भए छन् । योजना सम्झौता थापाको पालामा भएको हो भने योजना फछ्र्यौट भएको समयमा राई प्रधानाध्यापक हुनुहुन्थ्यो (हालसम्म प्रधानाध्यापक नै रहेको) । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाँके राईलाई विद्यालयमा कुन योजना, कतिको, कहाँबाट आयो र कसरी सकियो भनेर थाहा नहुँदो रहेछ । अध्यक्षको हस्ताक्षर गर्ने बाहेकको अन्य काम विव्यस अध्यक्षको नभएको पाइएको छ । जुन कुरा स्वयं बाँके राई स्विकार्नु हुन्छ ।

यसरी मिलाइ मिलाइ गरिएयो पैसा भागबण्डा

शौचालय निर्माणको जिम्मा पाएका बेलकुमार राईको अनुसार प्रधानाध्यापक पैसा झिक्न दिक्तेल आउनेजाने खर्च कटाएर बाकी दिने सहमति गरिएको थियो । सुरुका प्रधानाध्यापक बिरेन्द्र थापाले गरेको सहमती अनुसार नै शौचालय निर्माणको काम अघि बढ्यो । शौचालय सम्पन्न हुने समयमा सुरुमा गरिएको मौखिक सम्झौता अनुसार नभएपछि काम छाडेको बेलकुमारको भनाइ छ ।

प्राविधिक खर्च भन्दै अनुगमनमा गएका सव–इन्जिनियर चेतनारायण सिवाकोटीले रु ४० हजार लगेको पाइएको छ । प्राविधिक खर्च रु ४० हजार र अडिट खर्च रु २० हजार लाग्ने भनेर प्रधानाध्यापक राईले रु ६० हजार रकम लगेको बेलकुमार बताउनुहुन्छ । नेपाल सरकारको तबलसँगै फिल्ड भत्तासमेत लिइरहेका कार्यालयबाट खटिएका प्राविधिकलाई योजनाबाट कुनै पनि रकम दिन आवश्यक छैन् । तर सव–इन्जिनियर सिवाकोटीले पञ्चावतीदेवी प्राथमिक विद्यालयको शौचालय निर्माण योजनाबाट रु ४० हजार चप्काएको देखिन्छ ।

यस्तै, कुनै पनि योजना त्यसको स्टामेट अनुसारको काम र बिल भरपाइ अनुसार फछ्र्यौट हुन्छ । तर प्रधानाध्यापक राईले अडिट गर्नु पर्छ भन्दै रु २० हजार सोझै खल्तीमा हालेको प्रष्ट देखिन्छ । दुई जना प्रधानाध्यापक योजनाको कामका लागि दिक्तेल आउदा जादा रु ६० हजार भन्दा धेरै रकम खर्च भएको पनि पाइएको छ ।

सव–इन्जिनियर सिवाकोटीले कसैलाई नभन्नु भन्दै रु ४० हजार लिएर शौचालय बाहिरको भागमा मार्बल लगाउनु पर्दैन भनेकाले नलगाएको निर्माणको जिम्मा लिएका बेलकुमार राईको भनाइ छ । तर अहिले अभिभाबकहरुले आवाज उठाएपछि मार्बल लगाउन र धारा जडान गर्न विद्यालयले बेलकुमारलाई अनुरोध गरेको पाइएको छ । केही समय भित्रमा मार्बल लगाउने तयारीसमेत गरेको बेलकुमार बताउनुहुन्छ ।

विद्यालयमा खानेपानीका लागि पनि छुट्टै रकम आएको बताइन्छ । तर विद्यालयमा खानेपानीको धारा सुकिरहेको देखिन्छ । कहिलेकाहीँ पानी आउने भए पनि शौचालयको ट्याङकीमा पानी नचड्ने अभिभाबकहरुको भनाइ छ ।

शौचालयको भित्रको अवस्था
शौचालयको एकपट्टिको भाग चिराचिरा