
खोटाङ, जेठ २ । खस्किएको देशको अर्थतन्त्र सुधार गर्न देशभरका जनप्रतिनिधिले तलब नलिन खोटाङका ज्येष्ठ नागरिकले माग गरेका छन् । वडा सदस्यदेखि राष्ट्रपतिसम्मका जनप्रतिनिधिहरुले २०८४ सालसम्म भ्रमण र बैठक भत्ता बाहेक अन्य सेवा सुविधा लिन नहुने ज्येष्ठ नागरिकको माग रहेको छ ।
नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै हुने अवस्थामा पुगेको छ । कर्मचारीहरुलाई तलब दिने पैसासमेत अभाव भइसकेको हुँदा अब जनप्रतिनिधिहरुले निशूल्क जनताको सेवा गर्नु पर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्रीलाई ज्येष्ठ नागरिक संघ खोटाङले मंगलबार ज्ञापन पत्र पठाएको हो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाइले तत्काल प्रधानमन्त्री साथै गृहमन्त्रीको कार्यालयमा पठाउने बताउनुभएको छ । जनप्रतिनिधिले तलब नलिनेसँगै हालसम्म भएको बेरुजु कानुन बमोजित तिर्नु पर्ने रकम एक वर्ष भित्रमा फछ्र्यौट गर्ने, भ्रष्टाचारी कैदीहरुको सेवा सुविधा ५० प्रतिशत कटौती गर्ने, पूर्व भिआइपीहरुको सेवा सुविधा कटौती गर्ने लगायतका माग ज्येष्ठ नागरिक संघ खोटाङको रहेको अध्यक्ष दुर्गा प्रसाद घिमिरेले बताउनुभयो ।
