
खोटाङ, जेठ २ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानका दुई आमा समुहलाई नगरपालिकाले कपास पेल्ने मेसिन प्रदान गरेको छ । व्यवसायिकरुपमा कपास उत्पादन गर्दै आएका महादेवस्थानका जुन तारा आमा समुह र गोदाबारी आमा समुहलाई नगरपालिकाले मंगलबार कपास पेल्ने मेसिन हस्तान्त्रण गरेको हो ।
पुर्खाको पालामा हलेसी तुवाचुङ नगरपालिका क्षेत्रका धेरै ठाउँमा कपास खेती हुने गरेको बताइन्छ । तर पछिल्लो समय लोपोन्मुख बनेको कपास खेती संकृतिसँग पनि जोडिएको भन्दै नगरपालिकाले प्रवद्र्धन गर्न सुरु गरेको हो । नगरपालिकाको अनुदानमा महादेवस्थानको साविक ६ र ९ नम्बर वडामा जुन तारा र गोदाबारी आमा समुहले कपास खेती गर्दै आएका छन् ।
यो वर्ष दुई आमा समुहका करीब ६५ घर परिवारले ८० रोपनी भन्दा धेरै जग्गामा कपास लगाएका थिए । जसबाट करीब १ हजार ५ सय केजी कपास उतपादन भएको जुन तारा आमा समुहका अध्यक्ष अम्बिका राईले बताउनुभयो । उत्पादन भएको कपासलई पेल्न अर्थात कपासका दाना छुट्याउन धेरै झन्झट हुने गरेको छ । यस अघि काठको मेसिनबाट कपासको दाना छुट्याउने गरेको र एक दिनमा एक जनाले १ केजी कपास मात्र छुट्याउन सकिने उहाँको भनाइ छ । नगरपालिकाले प्रदान गरेको मेसिनबाट एक दिनमै हजारौ केजी कपास छुट्याउन सकिने भएपछि आमाहरु हर्षित भएका छन् ।

कपास खेतीलाई जोगाउने मात्र हैन अब कपासको कारखाना नै सञ्चालन गर्ने सोँचका साथ अघि बढिरहेको गोदाबरी आमा समुहको अध्यक्ष एवं वडा सदस्य डल्लीमाया राई बताउनुहुन्छ । ‘कपासको सबै भन्दा जटिल काम दाना छुट्याउने थियो । अब त्यो जटिल काम मेसिनले गर्छ । अब कपासबाट बाती बनाउने, सिरक डस्ना बनाउने, तान बुन्ने लगायतको काम बुढाबुढी सबैले गर्न सकिन्छ ।’ राईले भन्नुभयो ।
तालिम लिएर कपासबाट खाँडीका कपडा बुन्ने तयारीमा पनि रहेको आमाहरुको भनाइ छ । ८० वर्षीया जुनासरी राईले भने अहिले पनि आफैँले उत्पादन गरेको कपासबाट खाँडीको कपडा बुनिरहनुभएको छ । राईको घरमा पुग्दा खाँडीको तान बुनिरहेको सहजै देख्न सकिन्छ । दौरा सुरुवाल पुग्ने कपडा प्रतिथान २० हजारमा बिक्री हुने राईले बताउनुभयो ।
नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा १० लाख बजेट विनियोजन गरेर कपास खेतीलाई प्रवद्र्धन गर्न सुरु गरेको हो । कपास खेतीका लागि नगरपालिकाले चालू आर्थीक वर्षमा रु. २० लाख बजेट विनियोजन गरेको थियो । चालु आर्थीक वर्षको १४ लाखबाट मेसिन प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
मेसिन हस्तान्त्रण कार्यक्रममा बोल्दै पछिल्लो समय ऐतिहासिक कुराहरुले धेरै महत्व राख्न थालेकाले कपास र खाँडीका कपडाको उत्पादनमा नगरपालिका लागेको उपमेयर रमेश कुमार राउतले बताउनुभयो । विभिन्न कार्यक्रम, बिबाह लगायतमा अहिले खाँडीका कपडाले महत्व राख्न थालेको छ । जसले गर्दा कपास उत्पादन र खाँडीको कपडा त्यस क्षेत्रका नागरिकको आम्दानीको दरिलो स्रोत बन्ने उहाँको भनाइ छ ।
लोपोन्मुख बनिसकेको कपास खेती किरात सभ्यतासँग जोडिएको र यसबाट आम्दानी पनि गर्न सकिने भएकाले प्रवद्र्धन गरिएको मेयर विमला राईले बताउनुभयो । कपासको दाना छुट्याउन झन्झट भएकाले यो पेसाबाट मानिसहरु टाढिएको हुँदा नगरपालिकाले मेसिन प्रदान गरेको उहाँको भनाइ छ । कात्तिकेका दुई आमा समुहलाई हस्तान्त्रण गरिएको मेसिनमा नगरपालिका भित्रका अन्य ठाउँ एवं अन्य पालिकाबाट पनि कपास ल्याएर पेल्न सकिने मेयर राईले बताउनुभयो ।
यसैबिच, जुन राता आमा समुहको नवनिर्मित भवन उद्घाटन गरिएको छ । सोही मेसिन हस्तान्त्रण कार्यक्रममा मेयर राई, उपमेयर राउतसँगै वडाध्यक्ष कमल गिरी, पुर्व वडाध्यक्ष चइन्द्र राई लगायतको उपस्थितिमा भवन उद्घाटन गरिएको हो ।
नगरपालिकाको दुई आर्थीक वर्षको १३ लाख ८५ हजार र आमा समुहको करीब ४ लाख बराबरको श्रमदानबाट दुई तले आरसिसि भवन निर्माण भएको आमा समुहका अध्यक्ष अम्बिका राईले बताउनुभयो । भवन निर्माणका लायि स्थानीय तुलसी कुमार राई र उहाँका श्रीमती समला राईले निःशूल्क जग्गा दान गर्नुभएको हो ।
सोही भवनमा कपास पेल्ने मेसिन पनि राखिएको छ ।

