
खोटाङ, जेठ ६ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा भएको निःशूल्क आँखा शिबिरमा ७८० जनाले सेवा लिएका छन् । निःशुल्क आँखा शल्यचिकित्सा शिबिरमा ७८० जनाको आँखाको जाँच गर्दा ५२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताउनुभयो ।
प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा जेठ ४ गतेदेखि जेठ ६ गतेसम्म सञ्चालन गरिएको निःशुल्क आँखा शल्यचिकित्सा शिबिरमा १० वर्षीय बालकले पहिलो पटक आँखा देखेका छन् । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क भोक्तेनीका १० वर्षीय लालकुमार खुलाल जन्मजात मोतियाविन्दुको समस्याबाट पिडित थिए । जन्मदै दुबै आँखाको दृष्टि धमिलो भएका खुलाल अरुको साहरामा हिँडडुल गर्थे । स्वर सुनेर आफन्तलाई चिन्थे । अरुले हातमा समाएर डोराइरहँदा आँखा हातले छोपेर हिँड्थे । नदेखेर लरबरिँदै हिँड्ने लालकुमारको आँखामा शल्यक्रियापछि ज्योती खुलेको छ । उनि अहिले आफै हिड्न सक्ने भएका छन् । उनले आफ्नै आमालाई पहिलोपल्ट राम्ररी देख्न पाएका छन् ।
खर्च अभाबले अस्पतालसम्म लगेर बच्चाको आँखाको उपचार गराउन सकिएको थिएन । गाउँमै निःशूल्क आयोजना भएको शिबिरले छोरा लालकुमार संसार देख्न सक्ने बनेको आमा शुशिला खुलाल बताउनुहुन्छ । लालकुमारको हाललाई देब्रे आँखाको शल्यक्रिया गरिएको छ । शल्यक्रिया सफल भएसँगै लालकुमारले जन्मेको १० वर्षपछि संसारलाई उज्यालो देख्न सक्ने भएका छन् ।
नेपाल नेत्र ज्योती संघ खोटाङको समन्वय एबं सगरमाथा चौधरी आँखा अस्पताल, लहानको प्राविधिक सहयोगमा ऐसेलुखर्क गाउँपालिकाले निःशुल्क आँखा शल्यचिकित्सा शिबिर आयोजना गरेको हो । लालकुमारको दाहिने आँखाको शल्यक्रियाका लागि महिना दिनपछि आउनेजाने र खाने व्यवस्था सहित लाहान बोलाइएको सगरमाथा चौधरी आँखा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट सञ्जयकुमार सिंले बताउनुभयो ।
खुलाल दम्पत्तीका चार छोरा मध्ये लालकुमार साईलो हुन् । गाउँकै प्रजातन्त्र प्राविमा कक्षा ४ मा पढ्दै आएका लालकुमार आँखाले नदेख्ने भएपछि साथीहरुले सुनेको घरमा कनिकुथी लेखपढ गर्न सिक्ने गरेका थिए । जन्मजात मोतिबिन्दु भएका लालकुमारलाई २ वर्षको उमेआमा आँखा उपचार शिबिरमा लगिएको थियो । तर १६ वर्ष नपुगेसम्म शल्यक्रिया गर्न मिल्दैन भनेर फर्काएको आमा शुशिलाको भनाइ छ ।
खुलाल दम्पत्तीको आर्थिक अवस्था दयनीय छ । अझ श्रीमान होमनाथलाई पायल्सको समस्याले च्यापेपछि छ वर्षदेखि ओछ्यानमा थलिएका छन् । होमनाथ हिँडडुल गर्न नसक्ने अवस्थामा छन् । शुशिलाले होमनाथलाई कानको सुनचाँदी फुकालेर, खसी बाख्रा बेचेर, ऋण खोजेर उपचार गर्ने प्रयास गरे पनि आर्थिक अपुग भएपछि होमनाथलाई घरैमा फर्काइएको हो । हाल छ जनाको परिवार शुशिलाको अर्मपर्मबाट चलिरहेको छ ।
ऐसेलुखर्कमा भएको निःशुल्क आँखा शिबिरमा १९० जना ज्येष्ठ नागरिकलाई आँखाको चेकजाँचपछि निःशुल्क चश्मा पनि वितरण गरिएको छ ।
