Friday, April 17News That Matters

हलेसी तुवाचुङका ९ विद्यालय र ६ जना उत्कृष्ट विद्यार्थीले नगद पुरस्कार पाउदै


खोटाङ, जेठ ८ । हलेसी तुवाचुङ नगरपालिकाले सञ्चालन गरेको नगर स्तरीय वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने ९ वटा विद्यालय र ६ जना विद्यार्थीलाई नगरपालिकाले पुरस्कार प्रदान गर्ने भएको छ । गत चैत ९–१६ गतेसम्म सञ्चालन भएको शैक्षिक सत्र २०७९ को वार्षिक परिक्षामा पहिलो, दोस्रो, तेस्रो हुने विद्यालय र कक्षा प्रथम हुने विद्यार्थीलाई नगरपालिकाले नगद पुरस्कार प्रदान गर्न लागेको हो ।

शैक्षिक सत्र २०७९ को कक्षा ४–९ सम्मको वार्षिक परिक्षा नगरपालिकाले (एसईई) मोडलमा सञ्चालन गरेको थियो । जसमा कक्षा ४ मा नगरपालिका भरीमा दामोदरमहासिंह आवि दुर्छिमका ब्रोलिजा राई ३.३४ जीपीए ल्याएर प्रथम भएकी छन् । कक्षा ५ मा हिमगंगा आवि अर्खौलेका भविन पुरी (३.४४ जीपीए), कक्षा ६ मा बुलापन्थे मावि धितुङका सुजना राई (३.२९ जीपीए) कक्षा ७ मा बुलापन्थे मावि धितुङका अनिल कट्वाल (३.०३ जीपीए), कक्षा ८ मा लक्ष्मी मावि बडहरेका गणेस दाहाल (३.११ जीपीए) र कक्षा ९ मा महेन्द्रोदय मावि महादेवस्थानका दया राई (३.२१ जीपीए) ल्याएर प्रथम भएका छन् । कक्षागत प्रथम हुने सबैलाई जनही रु १० हजार नगद पुरस्कार प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।

यस्तै, विद्यालयतर्फ कक्षा ४–५ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा खोक्सेली आवि बडहरे (२.२४ जीपीए) प्रथम, बोझेओडार आवि बडहरे (२.२१ जीपीए) दोस्रो र जनचेतना आवि बाहुनीडाँडा (२.०८ जीपीए) ल्याएर तेस्रो भएका छन् । उक्त तीन विद्यालयले क्रमश ५०,२० र १० हजार नगद पुरस्कार पाउने छन् ।

कक्षा ६–८ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा डिकुवा आवि डिकुवा (१.३४ जीपीए) प्रथम, शान्ति आवि बडहरे (१ं.२७ जीपीए) दोस्रो र हिमगंगा आवि राजापानी (१.२६ जीपीए) सहित तेस्रो भएका छन् । उक्त तीन विद्यालयले क्रमश ५५,२५ र १५ हजार नगद पुरस्कार पाउने छन् ।

कक्षा ६–९ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा सरस्वती मावि अर्खौले (१.०७ जीपीए) सहित प्रथम, कालिका मावि बाहुनीडाँडा (०.९० जीपीए) सहित दोस्रो र बुलापन्थे मावि धितुङ (०.८४ जीपीए) सहित तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रो हुने माविलाई क्रमश २ लाख, ५० हजार र २० हजार नगद पुरस्कार प्रदान गरिने नगरपालिकाका शिक्षा शाखा संयोजक पदमबहादुर कार्कीले जानकारी दिनुभयो ।

केही समय पश्चात नगरपालिकाले कार्यक्रमको आयोजना गरेर विद्यालय तथा विद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्ने कार्कीको भनाइ छ ।
(एसईई) मोडलमा परिक्षाहुँदा सबै विद्यालयको कमजोर नतिजा

विद्यार्थीको क्षमताको निष्पक्ष मुल्याङकनका लागि भन्दै नगरको मातहतमा (एसईई) मोडलमा चैत ९–१६ गतेसम्म नगर स्तरीय परिक्षा सञ्चालन भएको थियो । नगरपालिका भरीका ७० वटा विद्यालयलाई परिक्षा केन्द्र तोकेर फरक विद्यालयका प्रधानाध्यापकलाई केन्द्र अध्यक्ष बनाएर परिक्षा सञ्चालन भएको थियो । प्रश्न पत्र तयार गर्ने र उत्तर पुस्तिका परिक्षण पनि नगरपालिकाकै मातहतमा भएको थियो । यसरी कक्षा ४–९ सम्मको परिक्षा (एसईई) मोडलमा सञ्चालन गर्दा अधिकांश विद्यार्थीको कमजोर नतिजा आएको छ ।

सामुदायिक विद्यालयको शिक्षाको बास्तकिता कस्तो छ भनेर नतिजाले प्रष्ट पारेको नगरपालिकाका मेयर विमला राईको भनाइ छ । प्राय कार्यालयहरुले आफ्नो कमजोरीलाई लुकाउने भएपनि हलेसी तुवाचुङ नगरपालिकाले बास्तबिकता बाहिर ल्याएको र अब यसलाई सुधार्ने रणनीति बुन्ने मेयर राईले बताउनुभयो । नगरपालिकाका विद्यालयहरुको अबस्था नतिजाले प्रष्ट पारेकाले अब सोही अनुसारको शैक्षिक सुधारको आगामि वर्षको नीति कार्यक्रम तथा बजेट ल्याउने तयारीमा नगरपालिका रहेको उहँको भनाइ छ ।

‘नगर स्तरीय परिक्षा सञ्चालन गर्दैगर्दा नतिजा पक्कै कमजोर आउछ भन्ने सोचेका थियौँ, तर हामीले सोचेको भन्दा धेरै कमजोर आयो । अन्य पालिकाले कार्यालयले आफ्नो कमजोरी देखाउन चाहादैनन्, तर हाम्रो अवस्था यो छ भनेर देखायौँ, अब सुधार गर्ने योजना तयार गर्छौँ । यो नतिजाले शैक्षिक सुधारमा केके गर्न सकिन्छ भनेर नीति तथा योजना बनाउन सहयोग पुगेको छ ।’ मेयर राईले भन्नुभयो ।

जीर्ण भवन भएका विद्यालयको नयाँ भवन निर्माण, शिक्षकलाई प्रविधिसँग जोड्ने तथा आफ्नो कर्तव्य बोझ गराउने, शिक्षकलाई आवश्यक तालिम प्रदान साथै अभिभाकलाई पनि आफ्नो भूमिकाको महसुस गराउने गरी शिक्षाका कार्यक्रम ल्याउने मेयर राईको भनाइ छ । आगामि आर्थिक वर्षको बजेट निर्माणमा शैक्षिक सुधारका लागि के कस्ता कार्यक्रम तयार गर्ने विषयमा विज्ञसँग छलफलसमेत गरिने उहाँले सुनाउनुभयो ।

कार्यदल गठन

नगरपालिकाले कार्यदलसमेत गठन गरेको छ । गठित कार्यदलले शैक्षिक सुधारका लागि अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना निर्माण, शिक्षक विद्यार्थी अनुपातमा समानता कायम, विद्यार्थीको संख्याको तथ्य जाँचबुझ गरी विद्यालय समायोजन, भौतिक संरचनाको अवस्था साथै विषय शिक्षकको बारेमा बुझेर सिफारिस गर्ने छ ।

कार्यदलको संयोजकमा सामाजिक विकास समिति संयोजक तथा बाहुनीडाँडाका वडाध्यक्ष रुद्रबहादुर राई, सदस्यहरुमा बडहरेका वडाध्यक्ष किशोर बस्नेत, राजापानीका वडाध्यक्ष अनिश कार्की, सरस्वती माविका प्रअ नविन चाम्लिङ, दुर्छिम माविका शिक्षक टेकेन्द्र राई, महेन्द्रोदय आवि सल्लेका प्रअ दिलिप वाम्बुले र सदस्य सचिवमा नगरपालिकाका शिक्षा शाखा संयोजक पदमबहादुर कार्की रहेका छन् ।

उक्त कार्यदलले जेठ २५ गते भित्र सबै बुझेर नगर शिक्षा समितिमा सिफारिस गर्ने नगरपालिकाले जनाएको छ । कतीपय विद्यालयले विद्यार्थी संख्या बढाएर नगरपालिाई तथ्यांक बुझाएको पाइएको छ । त्यसैले विद्यालयमै गएर विद्यार्थीको सत्य संख्या कार्यदलले बुझ्ने छ । न्युनतम विद्यार्थी संख्या नभएका विद्यालयलाई समयोजनसमेत गरिने मेयर राईको भनाइ छ ।