
खोटाङ, जेठ १२ गते । बिहिबार साँझ वर्षासँगै आएको हावाहुरीले खोटाङमा घर तथा विद्यालयमा क्षती पु¥याएको छ । हावाहुरीले दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभुत विद्यालयको दुई वटा भवनको छाना उँडाएको हो । सोही पालिकाका विभिन्न ठाउँका ५ वटा घरको छाना पनि उँडाएको छ ।
विद्यालयको छाना उँडाएपछि आइसिटी कक्षाको कम्प्युटर, डेस्क बेञ्च लगायतका सामान भिजेको छ । आइसिटी कक्षासँगै कक्षा ४ र कक्षा ५ पठन–पाठन हुँदैआएको भवनको छाना उडाएर पाखामा पु¥याएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।
यस्तै, हावाहुरीले बतासे बोल्पाका रामबहादुर राईको घरको टिनको छाना र बरण्डा उँडाएर करिब ५० मिटर टाढा पु¥याइदिएको छ । गाउँपालिका–३ छोरम्बुका नारायणकुमारी राईको घरको खरको छानो, मानबहादुर सार्कीको बरण्डा, भरत पुर्कुटीको बरण्डा, धिरु खड्काको बरण्डा र टायलको छाना आवाहुरीले उडाएको छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिकासँगै हलेसी तुवाचुङ नगरपालिकाका केही घरमा पनि क्षति भएको बताइएको छ । बिहिबार साँझमा आएको हावाहुरीले जिल्लाका अधिकांश स्थानका केरा, आँप, लिची लगायतका फलफुलको बोट भाँच्नुका साथै फल झारेको छ । ठुला भएका मकैका बोटहरुसमेत हावाहुरीले लडाएको छ ।
