
खोटाङ, जेठ १५ । खोटाङको रावा बेसी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । गाउँपालिका भित्रका खोप उमेर समुहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई सोमबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
नेपाल सरकारले निःशूल्क प्रदान गर्ने सबै मात्रा खोप रावा बेसी गाउँपालिकाका बालबालिकाले लगाएका छन् । २०७९ वैशाखदेखि ०८० वैशाखसम्म १५ महिनासम्मका १ सय ९१ जना बालबालिकाले पुर्णमात्रा खोप लगाएको स्वास्थ्य शाखा संयोजक कौशल अधिकारीले बताउनुभयो । गत फागुनमा गरिएको घर सर्वेक्षणमा १६ देखि ५९ महिनाको ४८१ जना बालबालिकाले सबै मात्रा खोप लगाएको पाइएको थियो । एउटा खोप छुटेको ३ जना बालबालिका भेटिएका थिए । उनिहरुलाई पनि खोप लगाएपछि रावा बेसी गाउँपालिका भित्रका सबै बालबालिकाले पुर्ण मात्रा खोप लगाएको संयोजक अधिकारीको भनाइ छ ।
गाउँपालिका भित्रका सबै बालबालिकाले खोप लगाएको सुनिश्चितता भएपछि स्वास्थ्य कार्यालय खोटाङले रावा बेसीलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेको हो । यस्तै, आगामि वर्षमा पनि सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने, कसैलाई नछुटाउने प्रतिबद्धतासहित हस्ताक्षर गरिएको छ ।
गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई सफल बनाउन योगदान पु¥याएकोमा सबै स्वास्थ्य सस्थालाई कदरपत्रले सम्मान गरिएको छ । गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई, विशेष अतिथिमा गाउँपालिकाका उपाध्यक्ष कौशिला कुमारी गुरुङ र स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देल साथै पालिकाका जनप्रतिनिधि स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।
खोटाङलाई २०७४ पुस १४ गते ३१ औं पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । ७४ पश्चात हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिदै आएको छ । यो वर्ष हालसम्म रावा बेसी गाउँपालिकासँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका र बराहपोखरी गाउँपालिकाले सुनिश्चितता पालिका घोषणा गरिसकेका छन् ।
