Saturday, April 18News That Matters

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बजेट ९८ करोडको


खोटाङ, असार ९ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ९८ करोडको बजेट पेश गरेको छ । शनिबार भएको नगरपालिकाको ९ औँ नगर सभामा ९८ करोड ६ लाख ५७ हजारको बजेट पेश गरिएको हो ।

संघीय सरकारबाट ६९ करोड ९३ लाख र प्रदेश सरकारबाट ३ करोड ९८ लाख १२ हजार बजेट प्राप्त हुने छ । यस्तै चालु आर्थिक वर्ष २०७९/०८० मा खर्च नभइ वचत हुने अल्या रकम ७ करोड १५ लाख ३८ हजार हुने अनुमान छ ।

आगामी आर्थिक वर्षमा नगरपालिकाले आन्तरिक आयमा १ करोड ८० लाखको लक्ष्य राखेको छ । संघीय सरकारबाट १३ करोड २४ लाख २९ हजार र प्रदेश सरकारबाट १ करोड ९५ लाख ७८ हजार राजश्व प्राप्त हुने अनुमान गरिएको बजेटमा उल्लेख छ ।

कृषि तथा पशुपालनतर्फ फलफूल प्रशोधन केन्द्र निर्माणका लागि १ करोड र कृषि बजार निर्माणका लागि ५० लाख बजेट विनियोजनसँगै अन्य कार्यक्रमहरु रहेका छन् । वैदेशिक रोजगारीमा गएर फर्केका ब्यक्तिहरुका लागि पुनः एकिकरण परियोजनाका लागि ४८ लाख बजेट विनियोन भएको छ ।

पर्यटन पुर्वधारमा कालिका भगवती तथा मझुवागढीको सौन्दर्यकरणमा १ करोड ५३ लाख ८४, बुइपामा निर्माणधिन रहेको विश्वकै अग्लो यलम्बरको मुर्ति निर्माणलाई निरन्तरताका लागि २ करोड १० लाख बजेट विनियोजन भएको छ । यस्तै, नेर्पाको साकेला भिलेज पार्क निर्माका लागि ४६ लाख १६ हजार, नुनथलाको खाम्लामा हँतोलुङ सांकृतिक पार्क निर्माणका लागि ८० लाख बजेट विनियोजन भएको छ ।

माटिकोरेस्थित दिक्तेल रंगशाला निर्माणमा १ करोड ४९ लाख लगायतका अन्य योजनाहरुमा बजेट विनियोजन भएको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको नगरपालिकाले प्राय पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । आमागी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र बजेट उपप्रमुख विसन राईले प्रस्तुत गर्नुभएको थियो ।