
खोटाङ, असार ८ । सुक्खा क्षेत्र घोषणा गरिएको खोटाङको हलेसी क्षेत्रका नागरिकको घर–घरमा दुधकोसीको पानी पु¥याउने योजना अन्तिम चरणमा पुगेको छ । हलेसी तुवाचुङ नगरपालिकाका ७ वडाका कम्तीमा ३ हजार ७ सय ५६ घरधुरीलाई बितरण गर्ने लक्ष्य राखिएको (बृहत पम्पिङ) खानेपानी आयोजना अन्तिम चरणमा पुगेको हो ।
दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकालेर वितरण गर्ने लक्ष्यका साथ २०७४ सालदेखि करिब एक अर्वको लिफ्टिङ आयोजनाको काम अघि बढाइएको थियो । आयोजना सुरु भएको करीब ७ वर्षमा डिकुवाको भुम्जुडाँडामा पानी आइपुगेको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबाट दुधकोशीको पानी १५० एमएमको पाईपमार्फत ४ हजार ५ सय मिटरमाथि रहेको डाँडामा निकालिएको हो ।
दुधकोसीबाट १÷१ लाख लिटरका ६ स्टेपका ६ वटा लिफ्ट ट्यांकी हुँदै भुम्जुडाँडामा बनाइएको सातौं स्टेपको ट्यांकीमा पानी निकालिएको हो । भुम्जुडाँडामा ४÷४ लाख लिटरका ३ वटा ट्यांकी निर्माण गरिएको छ । अब भुम्जुडाँडा ट्यांकीबाट पानी गाउँ गाउँमा वितरण हुने संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाका इन्जिनियर रामबिक्रम दाहालले बताउनुभयो । दुधकोसीको लुलिमाबाट भुम्जुडाँडा र महादेवबेँसीबाट काभ्रेडाँडामा पानी निकाल्ने मेनलाईनको ठेक्का दिवा–महादेव खिम्तीले गरिरहेको छ । महादेव खिम्तीले २०७६ पुस १७ गतेसम्ममा ३१ करोड ७५ लाख ९६ हजार (भ्याट वाहेक)मा सम्पन्न गर्नेगरी २०७४ असार २१ गते मेनलाईनको ठेक्का सम्झौता गरेको थियो । उता महादेवबेँसीबाट काभ्रेडाँडामा पानी निकाल्नका लागि पम्प जडानको काम मात्र बाँकी रहेको दाहालले बताउनुभयो ।
भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने वितरणलाईनको ठेक्का लामा कन्ट्रक्सन र काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीले लिएको छ । २०७७ असार ३० गतेसम्ममा सक्ने शर्तमा २०७५ असार ३१ गते दुबै वितरणलाइनतर्फको कामको सम्झौता गरिएको थियो । लामा कन्ट्रक्सनले ३७ करोड ९३ लाख ५७ हजार र रमन सगरमाथा–सगरमाथा घिमिरेले २६ करोड ७५ लाख ५१ हजारमा वितरणलाईनको ठेक्का लिएको थियो । मेनलाईन तथा वितरणलाईतर्फका सबै प्रोजेक्टको चौथो पटक थप भएको म्याद गत २०७९ चैत ३० गते सकिइसकेको छ ।
वितरण लाइनको काम धमाधम भइरहेको छ । केही ठाउँका वितरण लाइनको काम श्रमदान मार्फत गर्नुपर्ने हुन्छ । लामो समयसम्म लिफ्टिङको काम नहुँदा स्थानीयले वितरण लाइनमा श्रमदान गरेका थिएनन् । तर अहिले पानी डाँडामा निस्किएपछि वितरण लाइनको काम ठेक्का र श्रमदान दुवैतर्फ धमाधम भइरहेको हलेसी तुवाचुङ नगरपालिकाका उप–प्रमुख रमेशकुमार राउतले बताउनुभयो । करीब ३ देखि ५ घण्टाको बाटोबाट बोकेर हलेसी क्षेत्रका नागरिकले खानेपानी ल्याउने गरेका छन् । टयांकरले ल्याएको पानी किनेर पनि नागरिकले गुजारा चलाउदै आएका छन् । अहिले दुधकोसीको पानी भुम्जुडाँडामा निस्किदा स्थानीय हर्षित भएका छन् । पुर्खाकै पालादेखिको पानीको समस्या अन्त्य हुनलागेको स्थानीय बागदल खत्री बताउनुहुन्छ ।
पटक पटक म्याद थप्दा पनि (बृहत पम्पिङ) खानेपानी आयोजनाको कामले गति नलिदा नागरिक निरास थिए । गत मंसिरमा नगरपालिकाले निर्माण कम्पनीलाई बोलाएर चाडै काम सक्ने प्रतिबद्धतासहित हस्ताक्षर नै गराएपछि काम निरन्तर भएको थियो । सोही अनुसार डाँडामा पानी निकाल्ने काम सकिएको र अब वितरणको काम पनि चाडै गरिने नगरपालिकाका प्रमुख विमला राईले बताउनुभयो । दुधकोसीको पानी पिउनको लागि योग्य बनाउन शुद्धिकरण गर्न आवश्यक रहेकाले त्यसको लागि पनि पहल भइरहेको प्रमुख राईको भनाइ छ । गोरखापत्र
