
खोटाङ, असार २ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीमा पुराना योजनाको सार्वजनिक सुनुवाइ र नयाँ बजेटका लागि सुझाव संकलन गरिएको छ । वडामा सञ्चालन भएका चालु आर्थिक वर्ष २०७९/०८० का योजनाको वडाले सार्वजनिक सुनुवाइ गरेको हो । यस्तै, आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका लागि सुझाव संकलन गरिएको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले जानकारी दिनुभयो ।
चालू आ.वमा डुम्रेधारापानीमा साना ठुला गरेर ४७ वटा योजनाहरु सञ्चालन भएका छन् । संघ, प्रदेश, पालिका र वडाको गरेर कुल रु १ करोड ९१ लाख ५८ हजार ३७ रुपैयाँ बजेटको योजना वडामा सञ्चालन भएको वडाध्यक्ष पाण्डेले बताउनुभयो । जसको पारदर्शिताका लागि योजनाहरुको प्रगति र सार्वजनिक सुनुवाइ गरिएको उहाँको भनाइ छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षक, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, सर्वसाधरण नागरिक तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । उपस्थित ब्यक्तिहरुबाट आगामी आ.व ०८०/८१ म वडामा के कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सुझावसमेत संकलन गरिएको छ ।
डुम्रेधारापानी भित्रका सबै सडकहरु सधै सञ्चालन हुने बनाउनु पर्ने, आधुनिक कृषि कार्यक्रम सुरु गर्नुपर्ने, खानेपानीको सुविधा, शिक्षा स्वास्थ्यमा सुधार गरिनु पर्ने लगायतका सुझाव उपस्थितले जनप्रतिनिधिलाई दिएका छन् ।
यसैबिच, डुम्रेधारापानीमा सञ्चालनमा रहेको सामुदायिक विद्युत वितरण केन्द्रलाई केन्द्रीय प्रशारणमा लानु पर्ने सुझाव आएको छ । आगामी बजेटका लागि सुझाव संकलन गर्ने क्रममा डुम्रेधारापानीका नागरिकले सामुदायिक विद्युत वितरण केन्द्रलाई केन्द्रीय मातहतमा लानु पर्ने माग राखेका हुन् । हाल रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीसँगै वडा नम्बर १ कुभिण्डे, ५ दुवेकोल र ऐसेलुखर्क गाउँपालिकाका केही वडाहरुमा दुवेकोल सामुदायिक विद्युत वितरण केन्द्रमार्फत विद्युत सञ्चालनमा छ ।
