
खोटाङ, साउन ७ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ स्थित ऐसेलुखर्क बजार गएकी महिला बाटोमा मृत अवस्थामा फेला परेकि छिन् । शनिबार साप्ताहिक हाट भर्न घरबाट हिडिकी ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीकी करीब ४५ वर्षीया मेगमाया तामाङ मृत अवस्थामा भेटिएकी हुन् ।
बजारबाट अपरान्ह ५ बजेसम्म घर नफर्किएपछि परिवार र आफन्तले उनको खोजी गरेका थिए । बाटोमा खोजतलासी गर्दै जादा मृत अवस्थामा फेला परेको बताइएको छ । इलाका प्रहरी कार्यालय ऐसेलुखर्कलाई जानकारी आएपश्चात गएर हेर्दा ढुंगामा अड्किएको अवस्थामा लास फेला परेको थियो ।
बाटो भन्दा करीब ५ सय मिटर तल कटुञ्जे खोला भित्र ढुंगामा अड्किएको अवस्थामा लास भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मृत अवस्थामा भेटिएकी तामाङ बाटोमा हिड्दै गर्दा चिप्लिएर लडेको हुन सक्ने प्रहरीको अनुमान छ । मृत तामाङको आजै पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी बेनुकुमार कार्कीले बताउनुभयो ।
