Saturday, April 18News That Matters

खोटाङमा अवैधरुपमा खयरको काठ कटनी, बडहरेमा आमा समुहले रोके

अवैधरुपमा कटनी गरेर लादै गर्दा आमा समुहले जफत गरेर राखेको खयरको काठ ।

राजकुमार भट्टराई (सरगम)

खोटाङ, साउन २६  । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित खोक्सेली सामुदायिक वनमा अवैधरुपमा खयर कटनी गरेको पाइएको छ । सामुदायिक वनमा अवैधरुपमा कटनी गरेर लैजादै गरेको खयरका काठ स्थानीय आमा समुहले रोकेको छ ।

अवैधरुपमा खयर कटनी गरेर लैजादै गर्दा बुधबार राती स्थानीय कुन्तादेवी आमा समुहले रोकेको हो । राती करीब ८ बजे ट्याक्टरमा हालेर जैजादै गरेको खयरका काठ जफत गरिएको आमा समुहका अध्यक्ष सुमित्रा दाहालले जानकारी दिनुभयो । ‘हाम्रो सामुदायिक वनमा खयर काटिएको छ भन्ने सुनेका थियौँ । बुधबार राती खानेपानी जोड्न आमा समुह भित्रकै सदस्यहरु लोक माया दाहाल, सुमित्रा दाहाल, दिलकुमारी भुजेल र म गएका थियौँ । अध्यक्ष दाहालले भन्नुभयो, सोही समयमा ट्याक्टरले खयर लिएर आउदै गरेको देखेपछि रोकेका हौँ । त्यसपछि सबै तिर हल्ला भयो, स्थानीय सबै आउनुभयो ।’

प्रहरीले थाहा पाए भने समस्या हुने भन्दै खयरको काठ बोकेको ट्याक्टर रोकिएपछि चालकहरुले ठेकेदारलाई फोन गरेको उहाँको भनाइ छ । त्यसपछि ठेकेदारले म मिलाउछु काठ त्यही छाडेर आउनु भनेपछि चालकहरुले काठ छाडेर गएको स्थानीयको भनाइ छ ।

सोही समय आमा समुह र स्थानीयले खयर जफत गरेर राखेका छन् । बिहिबार गएर सामुदायिक वनमा हेर्दा करीब ६० बोट खयर काटिएको स्थानीयले बताएका छन् । जफत गरिएको खयर हाल बडहरेस्थित गरिबी निवारण संस्थाको भवनमा राखिएको छ । अवैधरुपमा कटनी गरेर लैजादै गरेको खयर जफत गरेर स्थानीयले सव डिविजन वन कार्यालय हलेसीमा खबर गरेको बताएका छन् । शुक्रबार कार्यालयका एक कर्मचारीसमेत गएका थिए । तर उक्त कर्मचारीले उल्टै स्थानीयलाई थर्काएको उनिहरुको भनाइ छ । ‘समात्ने भए काट्दै गर्दा पक्रिनु पथ्र्यो, यसरी लैजादै गर्दा किन समातेको काठ भन्दै कर्मचारीले स्थानीयलाई दवाव दिएको स्रोतको दावी छ ।

शव डिभिजन कार्यालय हलेसीका प्रमुख राम सागर मण्डल जिल्ला बाहिर रहेकाले आएर काठको विषयमा अनुगमन गर्ने बताउछन् । खयर कटनी सम्बन्धि कानुनी प्रक्रिया अनुसार वन कार्यालयसँग कटनी आदेश लिएर खयर काट्नु पर्ने हुन्छ । उक्त सामुदायिक वनमा खयर काट्न आदेश नलिएको मण्डलको भनाइ छ । कानुनी प्रक्रियामा नगइ खयर कटनी गर्नेलाई कारबाही हुने मण्डलको भनाइ छ ।

अनिल कुमार राई नाम गरेका ठेकेदारले पैसा दिएर त्याहीँका स्थानीयलाई खयर काट्न लगाएको बुझीएको छ । यसरी अवैधरुपमा खयर कटनी गरेर लैजादै गर्दा २ ट्याक्टर आमा समुह एवं स्थानीयले समातेका छन् । यो भन्दा अगाडी पनि यसरी अवैधरुपमा खयर कटनी गरेर लैजाने गरेको समाचार स्रोतको भनाइ छ । यस्तै, नजिकै रहेको हरियाली सामुदायिक वन क्षेत्रमा पनि खयरका रुख काटिएको स्रोतको भनाइ छ ।

यसैबिच, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा पनि अवैधरुपमा खयर कटनी गरिएको स्थानीयले आशंका गरेका छन् । एउटाको ब्यक्तिको जग्गाको कटनी आदेश लिएर ऐलानी जग्गाको खयर काटिएको डिकुवाका स्थानीय बताउछन् । डिविजन वन कार्यालय दिक्तेलका अनुसार डिकुवाको केशव मगरकोे जग्गाको खयर कटनी गर्ने अनुमती लिइएको छ । अनुमती लिए अनुसारको खयर गत जेठ महिनामै काटेर ठेकेदारले लगिसकेको छ । केही दिन अगाडी डिकुवाको अन्य जग्गाकोसमेत खयर काटेर लगेको स्थानीयको भनाइ छ । यस बिषयमा खयर ब्यक्तिको जग्गाको हो या ऐलानी जग्गाको हो भनेर अनुगमन गर्न डिकुवाका वडाध्यक्ष देवेन्द्र राईले डिविजन वन कार्यालयमा खबर गरेको बताउनुहुन्छ । तर हालसम्म कोही पनि कर्मचारी त्यहाँ नपुगेको उहाँको भनाइ छ ।

डिकुवाबाट लगिएको खयर पनि अवैध हुन सक्ने आशंकामा खोजतलासी गर्न च्यास्मिटार प्रहरी कार्यालयमा अनुरोध गर्दा आफ्नो अधिकार क्षेत्र नरहेको भन्ने जवाफ आएको वडाध्यक्ष राई बताउनुहुन्छ । त्यसपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासनमा फोन गरेपछि प्रहरी खटिएर केही समय खयरको काठ रोकिएको थियो । तर वैधानिक काठ भन्दै छाडिएको छ । हाल उक्त खयरको काठ बोझे ओढारमा लगेर ठेकेदारले राखेको डिकुवाका वडाध्यक्ष राईले बताउनुभयो । डिकुवाबाट केही दिन अगाडी लगिएको करीब ७० केजी काठ पनि कानुनी प्रक्रिया नपुराई कटानी गरिएको राईको भनाइ छ । डिकुवाको खयरको काठ अर्जुन बस्नेत नाम गरेका ठेकेदारमार्फत कटनी भएको वडाध्यक्ष राइको भनाइ छ ।