
खोटाङ, साउन २५ । खोटाङको हलेसी तुवाचुङका सामुदायिक विद्यालयहरुमा कक्षा १२ सम्म निःशूल्क शिक्षा प्रदान गर्न थालिएको छ । नगरपालिकाको “शुन्य शूल्क” कार्यक्रम अन्तरगत सबै सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षालाई निःशूल्क बनाइएको हो ।
नगरपालिकाले “शुन्य शूल्क कार्यविधि २०७९” पारित गरेर सबै विद्यालयहरुमा “शुन्य शूल्क” कार्यक्रम लागु गरेको हो । यदि विद्यालयहरुले कुनै पनि बहानामा शुल्क लिएको पाइएमा कारबाही हुने नगरपालिकाका शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले बताउनुभयो । निजि शिक्षकलाई तलब प्रदान, परिक्षा सञ्चालन खर्च लगायतकाका लागि भन्दै बिद्यालयहरुले शूल्क लिने गरेका थिए । नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गरेर अघिल्लै वर्षबाट “शुन्य शूल्क” कार्यक्रम घोषणा गरेको थियो । यो वर्षबाट कार्यक्रम पूर्णरुपमा लागु गरिएको संयोजक कार्कीको भनाइ छ ।
नेपालको संविधान २०७२ को भाग ३, धारा (३१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशूल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशूल्क पाउने व्यवस्था उल्लेख गरिएको छ । तथापी सामुदायिक विद्यालयहरुले विभिन्न बहानामा शुल्क उठाउने गरेका छन् । त्यसैले संविधानमा उल्लेख गरिएको कुरालाई हलेसी तुवाचुङ नगरपालिकामा व्यवहारमा कार्यन्वयन गरिएको मेयर विमला राईले बताउनुभयो ।
त्रैमासिक र अर्धवार्षिक परिक्षा सञ्चालनको लागि विद्यालय तह, विद्यार्थी संख्या र आवश्यकताका आधारमा नगरपालिकाले विद्यालयलाई बजेट उपलब्ध गराउने छ । कक्षा ४–९ सम्मको वार्षिक परिक्षा भने नगरपालिकालेनै लिने गरेको छ । नगर शिक्षककारुपमा विद्यालयमा आवश्यक शिक्षकको पनि परिपूर्ति नगरपालिकाले गरेको मेयर राईले बताउनुभयो ।
नगरपालिकाले विद्यालयलाई आवश्यक बजेट तथा शिक्षकहरु उपलब्ध गराएपछि कक्षा १२ सम्म शुन्य सुल्क लागु भएको विद्यालयहरुले जनाएका छन् । कक्षा १०, ११ र १२ का विद्यार्थीले नेपाल सरकारको अनिवार्य राजश्व भने तिर्नु पर्ने हुन्छ । राजश्व वर्षमा करीब ५ सय देखि १ हजारसम्म लाग्ने महेन्द्रद्धोय माध्यमिक विद्यालय हलेसीका प्रधानाध्यापक मनकुमार राईले बताउनुभयो । अन्य कुनै पनि शूल्क नलाग्ने उहाँको भनाइ छ । महेन्द्रद्धोय माविमा नेपाल सरकारको अनुदानमार्फत सञ्चालन भइरहेको सिभिल इन्जिनियरिङ कक्षा पनि निःशूल्क लिन सकिने प्रधानाध्यापक राईले बताउनुभयो ।
हलेसी तुवाचुङ नगरपालिकामा माध्यमिक विद्यालय १२ वटा छन् । जसमा २ वटामा कक्षा १० सम्म र १० वटा विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुन्छ । कक्षा १–८ आधारभूत १३ वटा र कक्षा १–५ एवं १–३ आधारभूत ६४ वटा गरी नगरपालिकामा ८९ वटा सामुदायिक विद्यालय रहेका छन् ।
यसैबिच, जीर्ण रहेका १५ वटा विद्यालयको भवन यस वर्ष नगरपालिकाले निर्माण गर्ने निर्णयसमेत गरेको छ । अघिल्लो वर्षमा केही विद्यालयको भवन निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
