Friday, April 17News That Matters

खोटाङ : बैंकिङ कसूर मुद्दामा फरार महिला पक्राउ


खोटाङ, पुस १८ । बैंकिङ कसूर मुद्दामा फरार एक प्रतिवादी महिलालाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । जिल्ला अदालत खोटाङबाट पक्राउ पुर्जी जारी भएपनि फरार रहेकी सुनिता खड्कालाई पुस १७ गते प्रहरी वृत सातदोबाटोको समन्वयमा ललितपुर–१४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विभिन्न समयमा रु ३५ लाख २५ हजार रकम लगेर खाली चेक दिएको भन्दै निर्माला भुजेलको जाहेरीको आधारमा खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी (प्रहरी निरीक्षक) बेनु कार्कीले जानकारी दिनुभयो । उदयपुरको चुहाडेमा जन्म भइ दोलखाको फस्कु घर भएकी ४१ वर्षिया खड्का हाल काठमाडौं बस्दै आएको बताइएको छ ।

निज खड्काले भुजेलसँग विभिन्न प्रलोभन देखाएर मोटो रकम लगेको प्रहरीको भनाइ छ । खड्काले बैंक अफ काठमाडौंको चेक काटिदिएको र चेक साट्न जादा खातामा रकम नभएको भन्दै भुजेलले जाहेरी दिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । पक्राउ परेकी खड्कालाई जिल्ला अदालत खोटाङबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

बैंकिङ कसूर मुद्दामा जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको पहिलो पटक हो । यस अघि बैंकिङ कसूर मुद्दा हेर्न जिल्ला अदालत खोटाङलाई अधिकार नभएकाले जाहेरी बिराटनगर पठाउने गरिएको थियो । हाल जिल्ला अदालत खोटाङबाट बैंकिङ कसूर मुद्दाको सुनुवाइ हुने भएपछि जिल्ला प्रहरी कार्यालयमा आएको जाहेरी अनुसार प्रतिवादीलाई पक्राउ गरिएको डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो ।