Saturday, July 27News That Matters

हलेसीमा राष्ट्रपति रनिङ शिल्ड सुरु, कानुन मन्त्री धनराज गुरुङद्धारा उद्घाट

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गर्दै मन्त्री धनराज गुरुङ, साथमा मेयर विमला राई, उपमेयर रमेश कुमार राउत लगायत ।

खोटाङ, माघ १३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शनिबार उद्घाटन गर्नुभएको हो ।

संघीय सरकारको सशर्त बजेट एक लाख र नगरपालिकाको नौ लाखसहित दश लाख लागतमा सञ्चालन हुने प्रतियोगितामा ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने बताइएको छ । माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाका १२ वटा सामुदायिक माध्यमिक विद्यालय र २ वटा संस्थागत गरी १४ वटा विद्यालय सहभागि रहेको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले बताउनुभयो । वडा नम्बर १० अर्खौले विजुलेस्थित सालपा खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा छात्रातर्फ २९० जना र छात्रतर्फ २६१ जना विधार्थी खेलाडी सहभागी रहेको उहाँको भनाइ छ ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्डका साथमा मेडल र प्रमाणपत्र पाउने छ । दोश्रो र तेश्रो हुने विद्यालयले कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक विद्यामा प्रथम, दोश्रो र तेश्रो हुने विधार्थी खेलाडीले ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी विद्यालयलाई दुरीको आधारमा ३० देखि ५० हजार खर्च उपलब्ध गराईने नगरपालिकाका मेयर विमला राईले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा पुरस्कमार पाउने तीन जना खेलाडीलाई सम्मानसमेत गरिएको छ । उद्घाटन समारोहमा साकेला, संगीनी र लाखे नाँच पनि प्रदर्शन गरिएको थियो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्न गाडीमा खोटाङ आउनुभएका मन्त्री गुरुङ शनिबारनै काठमाडौं फर्किनु भएको छ । नेपाली कांग्रेसको उपसभापतिसमेत रहनुभएका मन्त्री गुरुङले कार्यक्रममा बोल्दै लोभी नेता भएको देशका जनता कहिले खुसी नहुने बताउनुभएको छ ।

‘जुन देशको नेता लोभी हुन्छन् त्यो देशको जनताले सुख पाएको मैले अहिलेसम्म देखेको छैन्, त्यसैले हामी जस्ता देश बनाउन राजनीतिक गर्नेहरु लोभ बाट मुक्त हुन आवश्यक छ ।’ मन्त्री गुरुङले भन्नुभयो, ‘जुन देशमा नेताहरु लोभी छैनन्, त्यस्ता देशहरु अहिले विकसीत भइरहेका छन् । त्यसकारण हामी वडाअध्यक्षदेखि संघीय मन्त्री, प्रधानमन्त्री सबैले एउटै लक्ष्य लिन आवश्यक छ, त्यो हो सदाचार । यदि नेतामा सदाचारिता भएन भने देशले दुःख पाउछ ।’

यस्तै, मन्त्री गुरुङले राजनीतिमा लाग्नु भनेको मस्ती र रजगज गर्न नभएर जनताको उज्यालो भविष्य खोज्न रहेको बताउनुभएको छ । ‘राजनीतिमा लाग्नु भनेको रजगज गर्न हैन्, देशको मुहार उज्यालो बनाउन हो, यो यात्रा कठिन छ ।’ मन्त्री गुरुङले भन्नुभयो, ‘त्यसैले देशको मुहार उज्यालो बनाउन पहिले आफै सुध्रिनु पर्छ । देश बदल्ने हो भने पहिले आफु बदलिन आवश्यक छ ।’

यस्तै, कार्यक्रमको अध्यक्ष तथा हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले कार्यक्रममा बोल्दै ठेकेदारहरुले काम नगर्दा जनप्रतिनिधिले गाली खानु परेको बताउनुभएको छ । ‘सरकारबाट बजेट विनियोजित हुन्छ, सार्वजनिक खरिद ऐनलाई टेकेर ठेक्का लगाउछौँ । तर ठेकेदारले समयमा काम नगर्दा हामीले गाली खानु पर्छ ।’ मेयर राईले भन्नुभयो, ‘त्यसैले कानून मन्त्री यहि हुनुहुन्छ यस विषयमा बिचार गर्न आवश्यक छ, कतीपय सार्वजनिक खरिद ऐन सरकारको पक्षमा छैन्, सच्याउनु पर्ने देखिन्छ । निर्माण कम्पनीको लापारबाहिको कारण हामी भौतिक निर्माणमा पछि परेका छौँ ।’

यस्तै, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत अन्य क्षेत्रमा भने नगरपालिका क्रमिकरुपमा सुधार उन्मुख रहेको मेयर राईले बताउनुभयो ।

कार्यक्रमका तस्विरहरु