Saturday, July 27News That Matters

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ सुरु, राष्ट्रपति पौडेलद्वारा उद्घाटन

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल ।

खोटाङ, फागुन ५ गते । कला, संस्कृति र पर्यटन प्रवद्र्धनको लागि नेपाल कला परिषद, बबरमहल, काठमाडौंमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ सुरु भएको छ । फागुन १७ गतेसम्म चल्ने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’–२०८० को शनिबार एक समारोहबिच राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभयो हो ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोले गत असोज १७ गतेदेखि असोज २० गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । उक्त कार्यक्रममा सहभागी स्वदेश तथा विदेशका चित्रकारले बनाएको चित्रलाई काठमाडौं ल्याएर प्रदर्शन गरिएको हो । चित्रकला प्रदर्शनीको क्यानभासमा रङ्ग लगाएर उद्घाटन गर्नुभएका राष्ट्रपति पौडेलले प्रदर्शनीमा राखिएका चित्रहरुको अवलोकनसमेत गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा बिशेष अतिथीकोरुपमा उपस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन प्रवद्र्धनसँगै देशको सृद्धिमा चित्रकला प्रदर्शनीले ठुलो सहयोग गर्ने बताउनुभएको छ । प्राकृतिक र सांस्कृतिक कुरालाई चित्रकलामा उतारेर खोटाङ जिल्लालाई चिनाउनुको साथै यस क्षेत्रमा आधारित दीगो पर्यटन प्रवद्र्धनमा चित्रकला प्रदर्शनीले ठुलो टेवा पुग्ने उहाँको भनाइ छ । तर कोरिएका उक्त चित्रहरुलाई जोगाएर राख्नु पर्ने मन्त्री किरातीले बताउनुभयो ।

धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले चित्रकला प्रदर्शनी आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो । गत असोजमा दिक्तेलमा आयोजना गरिएको चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी बनेका नेपाल सहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनाम लगायतका चित्रकारले बनाएका करीब २०० वटा चित्रहरु प्रदर्शनीमा राखिएको मेयर भट्टराईले बताउनुभयो ।

१८ जना विदेसी र २५ जना स्वदेसी चित्रकारले दिक्तेलको मझुवागढी, भवनगैरा, हाटडाँडा, शंखधर शाख्वा, जालपा, शुभम फाउण्डेसन लगायतमा पुगेर उतारेका लाइभ पेन्टिङलाई नेपाल कला परिषदमा प्रदर्शनमा राखिएको हो । खोटाङमा अनुपस्थित कलाकारहरुले काठमाडौं लगायत देश विदेशमा कोरिएका ५० देशभन्दा बढीका चित्रकारहरुको चित्र प्रदर्शनमा अवलोकन गर्न सकिने मेयर भट्टराईको भनाइ छ । खोटाङ जिल्लाको प्राकृतिक, धार्मिक, साँस्कृतिक साथै पर्यटकीय क्षेत्रहरुलाई कलाकारहरुले क्यानभासमा उतारेका छन्् ।

१२ दिनसम्म कला परिषदमा प्रदर्शनमा राखिएको चित्रलाई पुःन दिक्तेलमा लगेर संग्रहालय बनाएर राख्ने योजना बनाइएको नगरपालिकाले जनाएको छ । कला परिषदमा फागुन १७ गतेसम्म हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको बताइएको छ । उद्घाटनमा खोटाङमा जन्मिएका कलाकारहरुले जिल्लालाई चिनाउने गीतसमेत प्रस्तुत गरेका थिए । विभिन्न जातीय सांस्कृतिक झाँकी पनि प्रतुत गरिएको थियो ।

नगरपालिकाको सर्वाङिगर्ण विकासका लागि निर्माण गरिएको योजना अनुसार चित्रकला सम्बन्धित कार्यक्रम आयोजना गरिएको मेयर भट्टराईले बताउनुभयो । ‘हामीले डोजर चलाएर भीर–पाखा भत्काउनुलाई मात्र विकास भनेका छौँ । भौतिक पूर्वधारको विकासबाटनै समाज विकासलाई कायापलट गर्न सकिन्छ भन्ने मैले पनि त्यही बुझेको छु । त्यसैले हामी यस काममा पनि निरन्तर लागि रहेका छौँ । तर विकास भनेको त्यो मात्रै हैन् भन्ने मेरो ठम्याइ छ । कला साहित्य, संगीत र खेलकुदको विकास सँगसँगै गरेर मात्रै सर्वाङिगर्ण विकास हुन सक्छ । त्यसैले सबै क्षेत्रको विकास गर्नलाई हामीले कार्य योजना बनाएका छौँ । त्यहि भएर भौतिक पूर्वधार निर्माण सँगसँगै अन्य क्षेत्रको विकास गर्नलाई हामी प्रयत्नशील छौँ । यस कार्यक्रमबाट नगरका नागरिकलाई मात्र हैन्, नेपाल देशलाई नै फाइदा भयो भन्ने मेरो बुझाइ छ । पर्यटक प्रवद्र्धन गर्दै देश विकास गर्न पर्यटन मन्त्रालय र पर्याटन बोर्डले गर्नु पर्ने काम हामीले गरेका छौँ । कतैबाट एक रुपैयाँ लिएका छैनौँ । हाम्रो यो कार्यक्रमबाट अहिले तत्काल फाइदा नदेखिए पनि िदर्घिकालिन ढंगबाट पर्यटक भित्रीने छन्, हाम्रो कला संस्कृति अन्तराष्ट्रियकरण हुने छ र चित्रकलाप्रति समर्पित विद्यार्थीले अझ निखरता पाउने छन् ।’