
खोटाङ, फागुन ६ गते । टेकमाइन इन्टरनेटको लापारबाहिको कारण खोटाङमा सरकारी कार्यालयदेखि विभिन्न संघ संस्थाहरुको सेवा प्रभावित बनेको छ । नेट जडान गरेर मर्मतमा टेकमाइन कम्पनीले ध्यान नदिदा कार्यालयहरुले प्रदान गर्ने सेवा प्रभावित भएको हो ।
बढ्दो प्रविधिको प्रयोगसँगै जिल्लाका सबै स्थानीय तह तथा सरकारी कार्यालयमा इन्टरनेटमार्फत सेवा प्रवाह शुरु गरिएको छ । तर, इन्टरनेट सेवा प्रदायक कम्पनीको लापरवाहीले स्थानीय तह तथा कार्यालयहरुमा जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा परेका छन् । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे वडा कार्यालयमा माघ २५ गतेदेखि इन्टरनेट नचल्दा सेवा प्रभावित भएको वडाध्यक्ष सुनिल राई बताउनुहुन्छ ।
बसाइँसराइ, जन्मदर्ता, जग्गाको तिरो तिर्ने, पञ्जिकरणका कामहरु सबै अनलाइनबाट हुने गरेको छ । तर वडा कार्यालयमा इन्टरनेट नचल्दा सेवा प्रभावित भएको उहाँको भनाइ छ । ‘नागरिकहरु काम लिएर वडामा आउनुहुन्छ, तर इन्टरनेट नचलेर काम हुन पाएको छैन् । अहिले हातले लेखेर हुँदैन सबै काम अनलाइनबाट गर्नु पर्छ । नागरिकको काम गर्न नसक्दा वडा कार्यालयमा ताला लगाउँछौँ भन्न थालिसके ।’ वडाध्यक्ष राईले भन्नुभयो, ‘नेटमा फोन गर्दा भोली बनाउँछौँ मात्र भन्छन्, तर कहिले बनाउन आउदैनन् ।’
ज्यामिरे वडा कार्यालयमा टेकमाइनको इन्टरनेट जडान गरेको तीन वर्ष भयो । करीब एक वर्ष अगाडी पनि ४२ दिन नेट बिग्रीएर सेवा प्रभावित भएको वडाध्यक्ष राईको भनाइ छ । ज्यामिरे वडा कार्यालयसँगै, विद्यालय लगायत अन्य कार्यालय र ब्यक्तिको घरहरुमा पनि सोही कम्पनीको नेट राखिएको छ । अहिले सबै कार्यालयमा नेट बन्द छ ।
टेकमाइन इन्टरनेट जिल्लाका प्राय सबै सरकारी कार्यालयहरुमा जडान गरिएको छ । त्यी सबै कार्यालयहरुमा नेटले बेलाबेला दुःख दिने गरेको बताइन्छ । टेकमाइनसँगै जिल्लामा सञ्चालित अन्य नेटहरुको हालत पनि उस्तै छ । सेवाग्राहीलाई बिना झन्जट छिटो सेवा दिने उद्देश्यले अधिकांश स्थानीय तह तथा सरकारी कार्यालयले पेपरलेस (बिना कागजात) इन्टरनेटमार्फत कामसमेत शुरु गरेको भएपनि नेट नचल्दा सेवाग्राही मारमा परेका छन् । दश स्थानीय तह रहेको जिल्लामा दर्जनबढी इन्टरनेट सेवा प्रदायक कम्पनीको इन्टरनेट जडान गरिएका छन् । कतिपयले सेवाग्राहीबाट अग्रिम भुक्तानी लिएर जडान गरिदिएका छन् भने, कतिपयले मासिक रुपमा भुक्तानी लिने गरेका छन् ।
यस विषयमा बुझ्न खोज्दा टेकमाइन इन्टरनेटको शाखा कार्यालय खोटाङको सम्पर्क नम्बरको आगमन कल निषेध गरेर राखिएको छ । कार्यालय प्रमुख तथा प्राविधिकहरुको सम्पर्क नम्बर पनि ब्यस्तमा राखिएको छ । इन्टरनेटको केन्द्रीय कार्यालयमा सम्पर्क गर्दा चित्त बुझ्दो जवाफ आएन । प्राविधिहरुले बिग्रीएका नेटहरु तत्काल बनाउने आश्वासन दिएका छन् ।
