
खोटाङ, फागुन ८ । ऐसेलुखर्क गाउँपालिकामा सर्वाधिक पुरस्कार राशीको “ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप” आगामि चैतमा हुने भएको छ । चैत ७ देखि १० गतेसम्म आयोजना गर्न लागिएको “ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप” मा अन्तर पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने छ ।
ऐसेलुखर्क गाउँपालिकाको मुख्य प्रायोजनमा ऐसेलुखर्क खेलकुद विकास समितिले प्रथम अध्यक्ष कप आयोजना गरेको हो । प्रतियोगिताको पुरुषतर्फ प्रथम हुने टोलीले रु २ लाख नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो, तेस्रो र चौथो हुने टोलीले क्रमश रु १ लाख, ५० हजार र ३० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने ऐसेलुखर्क खेलकुद विकास समितिका अध्यक्ष रजिन राईले जानकारी दिनुभयो ।
यस्तै, महिलातर्फ प्रथम हुने टोलीले रु १ लाख २५ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो, तेस्रो र चौथो हुने टोलीले क्रमश रु ७५ हजार, ४० हजार र २५ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा ७ विधाका उत्कृष्ट खेलाडी र एक जना प्रशिक्षकलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । पुरुष र महिला दुवैतर्फको सर्वोत्कृष्ट खेलाडीलाई रु ५ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यस्तै, उत्कृष्ट सेटर, स्पाइकर, डिफेण्डर, ब्लकर, सर्भर र अनुसासित खेलाडीसँगै एक जना उत्कृष्ट टिम कोचले रु ३ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
सेमिफाइनल खेलदेखि प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको खेलकुद विकास समितिका अध्यक्ष राईले बताउनुभयो । ऐसेलुखर्क गाउँपालिकाको खेल मैदानमा हुने उक्त प्रतियोगिताको लागि चैत ६ गतेसम्ममा टिम दर्ता गरिसक्नु पर्ने छ । हरेक टिमलाई आफ्नो स्थानीय तहको सिफारिस र खेलाडीहरुको परिचय खुल्ने कागजात अनिवार्य गरिएको छ ।
नेपालको राष्ट्रिय खेल भलिबलको विकास र बिस्तारसँगै नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्श्यले “ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप” आयोजना गरिएको बताइएको छ ।
हेर्नुहोस् सूचना


