
राजकुमार भट्टराई (सरगम)
खोटाङ, फागुन १२ गते । उपचार अभावमा खोटाङमा एक महिला खोरमा थुनिएर बस्न बाध्य भएकी छिन् । घर परिवारको आर्थिक अवस्था कमजोर भएपछि तत्काल उपचारको लागि लान नसक्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ३० वर्षिया फुर्दिकु शेर्पा खोरमा थुनिएकी हुन् ।
डेढ महिना अघिसम्म शेर्पाको दैनिकी सामान्य थियो । तर, अचानक उनको बानी व्यवहारमा परिवर्तन आएपछि अहिले आगनमा काठको खोर बनाएर परिवारले उनलाई थुनेर राखेका छन् । भेटिएको जो कसैलाई ढुङ्गा र हतियारले आक्रमण गर्ने, सामानहरु फुटाइदिने, घर परिवारका सदस्यलाईसमेत आक्रमण गरेपछि बाध्य भएर थुनेर राखिएको बुवा पेमा शेर्पाले बताउनुभयो ।
घरको आगनमा काठले बारेर सानो खोर बनाइएको छ । सोही खोर भित्र महिलालाई राखिएको छ । समय समयमा खाना खाजा उनलाई खोर भित्रै परिवारका सदस्यले दिने गरेका छन् । हाल खोर भित्रै गीत गाउने, नाच्ने कपडाहरुलाई आफ्नो बच्चा भन्दै खेलाउने लगायतको क्रियाकलाप उनको दैनिकी बनेको छ । हाल फुर्दिकुको अवस्था दर्दनाक छ । खोर भित्रै खाने, बस्ने र खोर भित्रै दिसा पिसाब गर्दै आएकी छिन् । बेलाबेला परिवारका सदस्यले दिसा पिसाब सफा गर्दै आएको बताउछन् ।
बाहिरबाट कोही मान्छे आउदा केही समय राम्रो बोल्ने र बिस्तारै अपच शब्दहरु बोल्ने गरेको परिवारका सदस्यहरु बताउछन् । घर भत्काउने, कपडा, भाडाकुँडाहरु फाल्ने, रुने, कराउने, मानिसहरुलाई हतियारले आक्रमण गर्ने गरेपछि छोरीलाई गोठमा थुन्न बाध्य भएको आमा निम्ले शेर्पा बताउनुहुन्छ ।
तत्काल उपचारमा लान खर्च आभव भएपछि खोर भित्र थुनेर राख्नुको विपल्क नभएको बुवा पेमाको भनाइको छ । ‘यस अघि पनि धेरै खर्च गरेर उपचार गराइयो, अहिले त केही छैन्, घर जग्गाको धनिपुर्जा पनि बैंकमा राखिएको छ । खै कुन पैसाले उपचारमा लानुर, फेरी एक्लै गाडीमा हालेर उपचार गर्न लान पनि सकिदैन् । मान्छेलाई आक्रमण गरिहाल्छे ।’ बुवा पेमाले भन्नुभयो, ‘कतैबाट कसैले केही सहयोग गरे त लानु हुन्थ्यो, छोरीको बिजोग छ, खोरमा थुनेर राखेका छौँ । बाहिरबाट हेर्ने सुन्नेले त परिवारलाई नराम्रो सोच्दा होलान्, तर हाम्रो विपल्क नै अरु केही छैन् ।’
हाल मानसिकरुपमा अस्वस्थ ३० वर्षकी शेर्पा विवाहित हुन् । उनको ६ वर्षको एउटा छोरा पनि छन् । उनको श्रीमानको भने मृत्यु भइसकेको छ । उनी अहिले माइती घर नुनथलामा बस्दै आउकी छिन् । शेर्पामा यस्तो समस्या देखिएको यो पहिलो पटक हैन् । कक्षा १० मा अध्ययन गर्दैगर्दा पहिलो पटक समस्या देखिएर उपचार पश्चात ठिक भएकी शेर्पामा श्रीमानको मृत्यु पश्चात पुनः सोही समस्या दोहोरिएको थियो । करीब तीन वर्ष अघि पाटन अस्पताल लगेर औषधि उपचार गरेपछि ठिक भएकी शेर्पा अहिले पुनः सोही समस्याको सिकार बनेकी हुन् ।
तेस्रो पटक गत माघ ३ गतेदेखि शेर्पामा यस्तो समस्या देखिएको हो । बानी व्यवहारमा पुरै परिवर्तन भएर मानिसलाई आक्रमण गर्न थालेपछि खोर बनाएर थुनिएको बुवा पेमाको भनाइ छ । अस्पतालले दिएको पहिलेको औषधिको बिल अनुसार अहिले औषधि ल्याएर खुवाइरहेको उहाँ बताउनुहुन्छ । तर, अस्पताल नै लान सक्ने अवस्था भने परिवारमा छैन् ।
पेमा र निम्लेको तीन छोरी र दुई छोरा गरी जम्मा पाँच सन्तान हुन् । जेठी छोरी हुन् फुर्दिकु शेर्पा, हाल उनि मानसिकरुपमा अस्वस्थ छिन् । जेठा छोरा पनि वैदेसीक रोजगारीको लागि विदेश जादा लडेर गम्भीर घाइते भएपछि धेरै खर्च गरेर उपचार गराइएको बुवा आमाको भनाइ छ । हाल छोरीको उक्त अवस्था आएपछि परिवार चिन्तित बनेको छ ।
आमा, बुवामा पनि सोही प्रकारको समस्या आएर निको भएको थियो । पछि छोरीलाई उक्त समस्या देखिएको हो । बुवा आमाका अनुसार उनि कक्षा १० सम्म अध्ययन गर्दा मानसिकरुपमा ठिक थिइन् । घर भन्दा केही माथी नुनथला बजारमै बिद्यालय नजिक कोठा लिएर कक्षा १० मा अध्ययन गर्थिन् । तर अचानक उनको बानी व्यवहारामा परिवर्तन आएपछि उनलाई परिवारका सदस्यले घरमा ल्याए । सुरुमा धामी झाँक्री लगाए, त्यसपछि जिल्ला अस्पताल दिक्तेलमा लगेर उपचार गराएपछि उनि ठिक भइन् । सुरुको वर्ष बिरामी भएर उनको एसलसी परिक्षा छुट्यो । निको भएर केही वर्षपछि उनी पुनः पढाइमा फर्किइन् र कक्षा १० अर्थात एसलसी उर्तिण गरिन् ।
केही वर्ष पछि प्रेम बन्धनमा बाँधिएकी फुर्दिकु शेर्पाले माग्न केटालाई घरमै बोलाइन् । बुवा आमाले पनि उनले रोजेको भोजपुरका दाजाङ शेर्पासँग बिबाह गरिदिए । शेर्पा दम्पतीबाट एक छोराको जन्म पनि भयो । अहिले छोरा कक्षा तीनमा अध्ययन गर्दै छन् । तर केही वर्ष पछि मुटुको समस्याका कारण श्रीमान दाजाङको मृत्यु भयो । श्रीमानको मृत्यु भएपछि मानसिकरुपमा विचलित भएकी श्रीमती फुर्दिकुले करीब एक वर्ष पछि पुरै होस् गुमाइन् । श्रीमानतर्फको परिवारले बेवास्ता गरेपछि माइतीले खोटाङ ल्याएका हुन् ।
कोरोना माहामारीको उक्त समयमा देशभर बन्दाबन्दी थियो । जिल्ला प्रशासनबाट पास बनाएर बुवाले पाटन अस्पतालसम्म छोरीलाई पुराएको बताउनहुन्छ । केही समय अस्पतालमा राखेर उपचार गरेपछि औषधि दिएर अस्पतालले घर पठायो । औषधि खादै जादा बिस्तारै ठिक पनि हुँदै आउको बुवा पेमाको भनाइ छ । सोही बिचमा क्रिश्चियान धर्ममा जानु पर्छ ठिक हुन्छ भनेर कसैले भनेपछि छोरीलाई उक्त धर्म मान्न सोलुखुम्बुसमेत पठाएको बुवा पेमा बताउनहुन्छ । ‘छोरी ठिक हुन्छ भने बरु धर्म परिवर्तन गर्दा के हुन्छ भनेर क्रिश्चियान हुन सोलुखुम्बु पनि पठाएँ । केही समय राखेर ठिक भयो भन्दै ल्याइदिए । तर त्यी कुरा सबै झुट रहेछ, अस्पतालको औषधिले छोरीलाई ठिक हुँदै गएको रहेछ ।’ बुवा पेमाले भन्नुभयो, ‘कपाल झर्ने केके समस्या भयो भन्दै छोरीले औषधि खान छाडेकी रहिछ । अहिले पुनः रोग बल्झियो उपचार गर्न लान सकिरहेका छैनौँ ।’
