Tuesday, December 3News That Matters

राष्ट्रिय म्याराथनको उपाधि खोटाङकी प्रिया राईले जितिन्, दोस्रो पनि खोटाङकै निर्मला राई


खोटाङ, फागुन १९ । ओखलढुंगामा आयोजना गरिएको खिजीदेम्बा अल्ट्रा फुल म्याराथनको पाँचौ संस्करणको उपाधि महिलातर्फ खोटाङकी प्रिया राईले जितेकी छिन् । खोटाङकै निर्मला राई प्रतियोगिताको दोस्रो भएकी छिन् ।

राष्ट्रिय विधाको महिलातर्फत प्रथम र दोस्रो भएका प्रिया र निर्मलाले नगद रु ७० हजार र ६० हजारसँगै मेडल र प्रमाणपत्र पाएका छन् । प्रियाले ५ घण्टा ४३ मिनेट २९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै उपाधी हात पारेकी हुन् । दोस्रो भएकी निर्मलाले ५ घण्टा ४३ मिनेट ३१ सेकेन्डमा दुरी पार गरेरेको आयोजकले जनाएको छ । पहिलो र दोस्रो हुने प्रिया र निर्मला दुवैको घर खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ बाकाचोल हो । प्रिया र निर्मला दिदिबहिनी हुन् । 

यस्तै, ५ घण्टा ४७ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै प्युठानकी हुमी बुढामगर तेस्रो र ५ घण्टा ५१ मिनेट ३ सेकेण्डमा निर्धारित दुरी पार गर्दै ओखलढुंगाकी छोकी शेर्पा सान्त्वना भएका छन् । उनिहरुले क्रमश नगद रु ५० र २५ हजारसँगै मेडल र प्रमाणपत्र पाएका छन् ।

राष्ट्रिय विधाको पुरुषतर्फ भने त्रिभुवन आर्मी क्लबका करन रावतले उपाधि जितेका छन् । शनिबार खिजिदेम्बामा सम्पन्न म्याराथनमा रावतले ४२ किलोमिटर दुरी ४ घण्टा १८ मिनेट २३ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् । पुरुषतर्फ त्रिभुवन आर्मी क्लबकै राजन मेयोङबा दोस्रो, पाँचथरका रमेश लिम्बु तेस्रो र रुकुमका शक्तीराम रोकाय चौथो भएका छन् । उनिहरुले पनि क्रमश रु ७०, ६०, ५० र २५ हजार नगदसँगै मेडल र प्रमाणपत्र पाएका छन् ।

ओखलढुंगा टुरिजम डेभलोपमेन्ट कमिटी र खिजीदेम्बा गाउँपालिकाको आयोजनामा सम्पन्न म्याराथनमा ३२ जना पुरुष र १९ जना महिलाहरुले प्रतिस्पर्धा गरेका थिए । खिजीदेम्बा गाउँपालिका–५ खिजिफलाटे बजारबाट चुप्लुङ भञ्ज्याङ, थोलेदेम्बा, ताक्लुङ, लामुजे, बुलबुले, फाक्से, खुन्दुर्के, दोराखर्क, ताउर, चुप्लुङ भञ्ज्याङ, दोब्रे भञ्ज्याङ हुँदै खिजिफलाटे बजार आएर म्याराथन सकिएको जनाइएको छ ।