
खोटाङ, फागुन १९ गते । भौगोलिकरुपमा ठुलो तथा विकट रहेको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा तीन ठाउँबाट नागरिकलाई स्वास्थ्य सेवा दिन थालिएको छ । दाम्लीमा रहेको डिकुवा स्वास्थ्य चौकीमा वडा भित्रका सबै नागरिकलाई आउन सहज नभएपछि तीन ठाउँबाट सेवा दिन थालिएको नगरपालिकाले जनाएको छ ।
दाम्लीमा वर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी यथावत छ । अघिल्लो वर्षदेखि डिकुवाको साविक १, २ र ३ वडालाई समेटेर रातमाटेमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । साविक ६, ७, ८ र ९ नम्बर वडाका नागरिकलाई स्वास्थ्य सेवाबाट नजिक बनाउन छुम्पाङमा शनिबारदेखि शहरी स्वास्थ्य केन्द्र सुरु गरिएको डिकुवाका वडाध्यक्ष देबेन्द्र राईले जानकारी दिनुभयो । छुम्पाङमा अघिल्लो आर्थिक वर्षमा नगरपालिकाले विनियोजन गरेको रु १९ लाख बजेटबाट ४ कोठे आरसिसि भवन निर्माण गरिएको छ । सोही भवनबाट शनिबारदेखि सेवा दिन सुरु गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।
नगरपालिकाका मेयर, विमला राई, उपमेयर रमेश कुमार राउत, प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठी, स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरे लगायतको उपस्थितिमा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको वडाध्यक्ष राईको भनाइ छ । उत्त स्वास्थ्य केन्द्रमा नगरपालिकाले एक जना अहेव खटाएको छ । केन्द्रबाट नागरिकले आधारभूत सबै स्वास्थ्य सेवाहरु लिन सक्ने स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताउनुभयो ।
डिकुवाका उक्त क्षेत्रका नागरिकहरु सामान्य स्वास्थ्य सेवा लिन यस अघि ३ घण्टाको पैदल यात्रा गर्दै दाम्ली जानु पर्ने बाध्यता थियो । आजबाट नागरिकको उक्त समस्याको अन्त्य भएको बताइएको छ । स्वास्थ्य सेवामा नागरिकलाई सहजता दिने लक्ष्यअनुरुप छुम्पाङमा शहरी स्वास्थ्य केन्द्र सुरु गरिएको नगरपालिकाका मेयर विमला राईले बताउनुभयो ।
‘शिक्षा, स्वास्थ्य र प्रशासनीक सेवामा भूगोल जत्रो भएपनि, जति टाढा भएपनि नागरिकलाई दुःख नदिने सोँचका साथ संरचना बनाएर सेवा सुरु गरेका छौँ । सोही ठाउँबाट पहिले खोप सञ्चालन हुन्थ्यो, अहिले आरसिसि भवन बनाएर आधारभूत स्वास्थ्य सेवा सुरु गरेका छौँ ।’ मेयर राईले भन्नुभयो, ।
११ वटा वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा हालसम्म ७ वटा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । भौगोलिकरुपमा ठुलो रहेको वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर नागरिकलाई घर नजिकबाट स्वास्थ्य सेवा प्रदान भइरहेको नगरपालिकाले जनाएको छ । डिकुवामा २, राजापानीमा २, अर्खौलेमा १, दुर्छिममा १ र बाहुनीडाँडा १ शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ ।

