
खोटाङ, चैत १३ । खोटाङमा निःशूल्क आँखा परिक्षण एवं चस्मा वितरण गरेर नेपाल नेत्र ज्योति संघको स्थापना दिवस मनाइएको छ । संघको ४६ औँ स्थापना दिवसको अवसरमा मंगलबार जिल्ला कार्यसमिति खोटाङले निःशूल्क आँखा परिक्षण एवं चस्मा वितरण गरेको हो ।
नेपालमा २०३५ साल चैत १३ नेपाल नेत्र ज्योति संघको स्थापना भएको थियो । स्थापना भएको ४६ वर्ष पुगेको अवसरमा आयोजना गरिएको कार्यक्रममा संघका आजीवन सदस्यहरु, सल्लाहकार एवं कार्यक्रममा उपस्थित सबै ४१ जनाको आँखा परिक्षण गरिएको हो । उनीहरु मध्ये आवश्यकताको आधारता ३२ जनालाई रिडिङ चस्मा वितरण गरिएको नेत्र ज्योति संघ खोटाङका सभापति इन्द्र कसजुले बताउनुभयो ।
खोटाङ जिल्लामा नेत्र ज्योति संघको शाखा २०६० साल वैशाख १० गते विस्तार भएको हो । शाखा स्थापनासँगै संघले जिल्लामा आँखा सम्बन्धित विभिन्न कार्यक्रम गर्दै आएको छ । सुरुमा जिल्ला अस्पतालको एउटा कोठामा रहेर आँखा उपचार केन्द्र सञ्चालन गरेको संघको अहिले आफ्नै भवन छ । खोटाङ समाज हङकङले २०७१ सालमा एक तले आरसिसि भवन निर्माण गरिदिएको सभापति कसजुको भनाइ छ ।
हाल सदरमुकाम दिक्तेलसँगै आँखा उपचार केन्द्र हलेसीमा पनि विस्तार गरिएको छ । जिल्लाको ऐसेलुखर्क र चिसापानीमा पनि बिस्तार गर्ने गरी तयारी थालिएको कसजुले बताउनुभयो । सगरमाथा आँखा अस्पताल लाहानसँगको समन्वयमा नेत्र ज्योति संघ खोटाङले प्राय हरेक वर्ष जिल्लाका विभिन्न ठाउँमा मोतिविन्दुको शल्यक्रियासहितको निःशूल्क आँखा शिविर आयोजना गर्दै आएको छ ।
संघको ४६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय प्रमुख सन बहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, वरिष्ठ पत्रकार कृष्ण आचार्य, ज्येष्ठ नागरिक संघका अध्यक्ष दुर्गा घिमिरे, जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर रुपेश संग्रौला लगायतको उपस्थिति रहेको थियो ।
