
खोटाङ, चैत १४ । खोटाङको एउटा सामुदायिक विद्यालयबाट (एसईई) दिने चार जना मात्रै विद्यार्थी रहेका छन् । सामुदायिक विद्यालयमा निरन्तर विद्यार्थी सङ्ख्या घट्दै जादा जिल्लाको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे सल्लेस्थित शान्तोदय माध्यमिक विद्यालयबाट (एसईई) परीक्षा दिने चार जना मात्रै विद्यार्थी भएका हुन् ।
कक्षा १–१० सम्म पठनपाठन हुने उक्त विद्यालयमा अहिले जम्मा ६२ जना विद्यार्थी छन् । हाल कक्षा ९ मा ५ जना मात्रै विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक दिप बहादुर राईले बताउनुभयो । प्रधानाध्यापक राईको भनाइ अनुसार अर्को वर्ष पनि शान्तोदयबाट (एसईई) मा ५ जना भन्दा बढी सहभागि हुने देखिदैन् । शान्तोदय माविमा कुनै समय एउटा कक्षामा ५० जनासम्म विद्यार्थी थिए । तर, अहिले सोही विद्यालयबाट ४ जना विद्यार्थी (एसईई)मा सहभागि हुँदै छन् । अत्याधिक बसाइसराई र जन्मदर कमहुँदा विद्यार्थी सङ्ख्या निरन्तर घटेको प्रधानाध्यापक राईको भनाइ छ । अघिल्लो वर्ष १४ जना विद्यार्थी (एसईई) मा सहभागि थिए । उक्त विद्यालयको परीक्षा केन्द्र देउराली मावि रहेको छ ।
ज्यामिरे सल्लेको शान्तोदय मावि जस्तै जिल्लाका धेरै वटा सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्या खासै देखिदैन् । (एसईई)मा सहभागि हुने ९ देखि २० जना विद्यार्थी सङ्ख्या भएको विद्यालयहरु पनि धेरै वटा रहेका छन् ।
देशभर चैत १५ अर्थात भोली बिहिबारबाट एसईई परीक्षा सुरुहुँदै छ ।परीक्षाको लागि खोटाङमा २४ वटा परिक्षा केन्द्र तोकिएको छ । २ हजार ९ सय ५६ जना विद्यार्थी परिक्षामा सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जनाएको छ । परीक्षाको लागि सबै परिक्षा केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको इकाई निमित्त प्रमुख नन्द बहादुर विश्वकर्माले बताउनुभयो । प्रश्नपत्र पनि परीक्षा केन्द्र नजिकका प्रहरी चौकीहरुमा पुगिसकेको उहाँको भनाइ छ ।
