Saturday, July 27News That Matters

कुभिण्डेमा नयाँ वर्षको अवसरमा खेलकुदसँगै सांस्कृतिक मनोरञ्जनको रौनक


खोटाङ, चैत २४ । नयाँ वर्ष २०८१ को अवसरमा रावा बेसी गाउँपालिका–१ कुभिण्डेमा खेलकुदसँगै सांस्कृतिक मनोरञ्जनको रौनक हुने भएको छ । नयाँ वर्षको अवसरमा चैत २९ गतेदेखि वैशाख २ गतेसम्म सञ्लान हुने गरी विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।

रावा बेसी गाउँपालिका र कुभिण्डे वडा कार्यालयको आर्थिक सहयोगमा कुभिण्डे युवा, खेलकुद तथा सांस्कृतिक विकास समितिले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई बाहिरबाट विभिन्न ब्यक्तिहरुले पनि आर्थिक सहयोग गरेका छन् । ४ दिनसम्म सञ्चालन हुने कार्यक्रममा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, वडा स्तरीय पुरुष डोरी तान प्रतियोगिता आयोजना गरिएको छ । यस्तै, वडा स्तरीय सामुहिक नृत्य प्रतियोगिता पनि आयोजना गरिएको छ । कार्यक्रममा रावा बेसी गाउँपालिका भित्रका विभिन्न जातजातीले आफ्नो मौलिक झाँकी प्रदर्शन पनि गर्ने कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभयो ।

वडा स्तरीय भलिबल प्रतियोगितामा जुनसुकै वडाले सहभागि जनाउन सक्ने छन् । प्रतियोगिताको प्रथम, दोस्रो, तेस्रो र चौथो हुने टिमले क्रमश रु ७० हजार, ४५ हजार, ३० हजार र ११ हजार पाउने छन् । विद्यागततर्फ उत्कृष्ट खेलाडिहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिका अध्यक्ष योगेस राईले बताउनुभयो ।

यस्तै, वडा स्तरीय पुरुष डोरी तान प्रतियोगितामा रावा बेसी गाउँपालिका भित्रका वडाले मात्र सहभागि जनाउन पाउनेछन् । एक समुहमा ५ जना हुनु पर्ने आयोजकले जनाएको छ । डोरी तानमा पहिलो र दोस्रो हुने समुहले रु १० हजार र ७ हाजर बराबरको बोका पुरस्कार पाउने छन् । प्रतियोगिताको तेस्रो हुने समुहलाई रु ५ हजार बराबरको कुखुराको भाले प्रदान गरिने बताइएको छ ।

यस्तै, वडा स्तरीय सामुहिक नृत्य प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने समुहले रु १६ हजार, १२ हजार, ८ हजार र ४ हजार पुरस्कार पाउने छन् । सामुहिक नृत्य प्रतियोगितामा एक समहुमा ६–१२ जनाहुनु पर्ने छ । गीत रााष्ट्रियता झल्कने हुनु पर्ने बताइएको छ ।