Thursday, April 16News That Matters

खोटाङमा चट्याङ लागेर हल गोरु मरे

खोटाङ, चैत ३० । खोटाङमा चट्याङ लागेर एक हल गोरु मरेका छन् । बिहिबार राती करीब ८ बजेको समयमा चट्याङ लागेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा एक हल गोरु मरेका हुन् ।

चट्याङ लागेर मरेका गोरु विजयखर्क बसेरीका चक्र ढुंगानाको एउटा र नारायण ढुंगानाको एउटा रहेको बताइएको छ । ढुंगाना दाजुभाईले एक/एक वटा गोरु खरिद गरेर हल बनाएका थिए । उक्त हल गोरु चक्रले पाल्ने गरेको स्थानीय राजन शर्माले बताउनुभयो । घर भन्दा करीब १०० मिटर टाढा गोठमा बाँधिएको गोरु चट्याङ लागेर मरेको शुक्रबार बिहान मात्र परिवारले थाहा पाएका हुन् ।

बाटो हिड्ने ब्यक्तिले गोठमा गोरु ढलिरहेका छन् भनेर हेर्न जादा हल गोरु नै मरेको भेटिएको शर्माले बताउनुभयो । राती करीब ८ बजेको समयमा हावाहुरीसहित विजुली चम्किदा ठुलो आवाज आएको थियो । त्यहि समयमा चट्याङ लागेको उनीहरुको अनुमान छ । एउटा गोरुको ढाडको छालानै डढेको भेटिएको शर्माको भनाइ छ ।

चट्याङ लागेर हल गोरु मर्दा करीब ८० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।