
खोटाङ, वैशाख १२ । डढेलो निभाउन खोज्दा खोटाङमा ८५ वर्षका बृद्धको डढेर मृत्यु भएको छ । सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्नेक्रममा रावा बेसी गाउँपालिका–१ कुभिन्डे हरम्टारका ८५ वर्षका सिद्धिबहादुर श्रेष्ठको बुधबार दिउँसो डढेर मृत्यु भएको हो ।
स्थानीय हरमटार मैनचौंर सामुदायीक वनको छेउमा खेतमा झिक्रा तथा पत्कर डढाउन आफैले आगो बालेका थिए । खेतमा बालेको आगो अनियन्त्रित भएर डढेलोको रुपमा फैलिएपछि निभाउने क्रममा डढेर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । खेतबाट वनमा फैलिएको आगोलाई गाउँले सबै मिलेर बिहान नियन्त्रणमा लिएका थिए । तर पुनः वनमा आगो बलेको देखेपछि वृद्ध नियन्त्रणमा गर्न जादा डढेर मृत्यु भएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभयो ।
बिहान ११ बजेदेखि वृद्ध घरबाट हराएका थिए । करीब दिउँसो ३ंः३० को समयमा डढेलोले डढेर मृत्यु भएको अवस्थामा परिवारका सदस्यले भेटेपछि प्रहरीलाई खबर गरेका हुन् । जानकारी आएपछि प्रहरीचौकी हरम्टारबाट प्रनानि नेतृत्वको प्रहरी टोली घट्नास्थल पुगेको छ । यस्तै, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको टोली घट्नास्थलतर्फ खटाइएको छ ।
वृद्धको पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी भइरहेको वडाध्यक्ष राईले बताउनुभयो ।
