Thursday, April 16News That Matters

धितुङका १४ विपन्न परिवारलाई घर छाउन वडाले दियो जस्ता

जस्ता प्रदान गर्दै वडाध्यक्ष टेकराज राई

खोटाङ, वैशाख १२ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका १४ विपन्न परिवारले घरको छानोमा लगाउन जस्ता पाएका छन् । वडा भित्रका १४ विपन्न परिवारलाई वडा कार्यालयले जस्ता प्रदान गरेको हो ।

चालू आर्थिक वर्ष २०८०/०८१ मा वडाले रु ७ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट खरिद गरिएको जस्ता १४ परिवारलाई बुधबार हस्तान्त्रण गरिएको वडाध्यक्ष टेकराज राईले बताउनुभयो । अघिल्लो वर्ष ११ घरलाई वडाले जस्ताको छानो लगाइदिएको छ । यस वर्ष १४ घरको छानोमा थप जस्ता हुने वडाध्यक्ष राईको भनाइ छ ।

अघिल्लो वर्ष विपन्न दलितलाई प्राथमिकतामा राखेर जस्ता वितरण गरिएको थियो । यस वर्ष भुकम्पको पुननिर्माणमा घर नपरेकाहरुलाई प्राथमिकतामा राखेर जस्ता वितरण गरिएको वडाध्यक्ष राईले बताउनुभयो । ‘अघिल्लो वर्ष दलित विपन्नहरुलाई वितरण गरेका थियौँ, यस वर्ष विपन्नलाई छनोट गरेर वितरण गरेका छौँ ।’ वडाध्यक्ष राईले भन्नुभयो, ‘भुकम्पको पुननिर्माणमा घर नपरेकाहरुलाई विशेष प्राथमिकतामा राखेर वितरण गरेका छौँ ।’

जस्ताको छानो लगाएपछि लामो समय ढुक्क हुने भएकाले विपन्न परिवारहरुलाई जस्ता वितरण गरिएको वडाध्यक्ष राईको भनाइ छ । ‘अहिले गाउँ घरमा धेरै मानिसहरुले जस्ताको छानो लगाइसकेका छन्, विपन्नहरुले लगाउन सकेका छैनन्, फुसको छानो केही वर्षमा छाउनु पर्ने हुन्छ । त्यसैले लामो समय ढुक्क होस् भनेर विपन्नहरुलाई पनि वडाबाट जस्ता प्रदान गरेका हौँ ।’