
खोटाङ, वैशाख १४ । वनमा लागेको डढेलो गाउँ पस्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका ६ वटा घर र ६ वटा मतान जलेर नष्ट भएको छ । शुक्रबार दिउँसो सल्ले पोखरी पाखा सामुदायिक वनमा लागेको डढेलोले सल्ले मगरगाउँका घर र मतानहरु जलेर खरानी भएका हुन् ।
डढेलोले मदन कुमार थापा, खगेन्द्र विक, गोपाल बहादुर थापा, इन्द्र बहादुर थापा र झन बहादुर थापाको घर र मतान जलेर नष्ट भएको हो । भेष बहादुर रानाको घर र योग बहादुर रानाको मतान जलेर खरानी भएको सल्लेका वडाध्यक्ष काशीराज राईले बताउनुभयो । वडाध्यक्ष राईका अनुसार मंगलटारका वनहरुमा डढेलो देखिएको थियो । दिउँसो एक्कासि सल्ले पोखरी पाखा सामुदायिक वनमा पनि डढेलो सुरु भएको हो । सामुदायिक वनमा लागेको डढेलोको झिल्को हावाले उडाएर गाउँमा ल्याउदा घर र मतानहरु खरानी भएको उहाँको भनाइ छ । डढेलो अझै नियन्त्रणमा नआएकाले सल्ले पोखरी आसपासका घरहरु जोखिममा रहेका छन् ।
घरमा आगलागी भएको जानकारी आएलगत्तै इलाका प्रहरी कार्यालय महादेवस्थान र प्रहरी चौकी अर्खौलेबाट प्रहरीहरु आगो नियन्त्रणमा खटिएको जिल्ला प्रहरी कार्यालय खोटाङकाका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्काले बताउनुभयो । स्थानीय र प्रहरीहरुले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको उहाँको भनाइ छ ।
दुई दिन अगाडि मात्र बाराहपोखरी गाउँपालिका–१ बाराहपोखरीमा डढेलोले १३ घर र ७ वटा मतान, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका २ घर खरानी भएको थियो । रावा बेसीमा एक वृद्धको डढेर मृत्यु भएको थियो ।
