
खोटाङ, वैशाख २० । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कोशी आसपासका विद्यालयको पठनपाठन हुने समय परिवर्तन गरेको छ । अध्याधिक गर्मी बढेपछि विद्यार्थीको सहजताको लागि दुधकोशी र सुनकोशी आसपासका ९ वटा विद्यालयको पठनपाठन समय बिहानलाई सारिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिका क्षेत्रका कोशी आसपासमा अहिले ४० डिग्री सम्म तापक्रम पुगेको छ । जसकारण बिहान १० देखि अपरान्ह ४ बजेसम्म हुदै आएको पठनपाठन बिहान ६ देखि ११ बजेसम्मलाई सारिएको नगर प्रमुख विमला राईले बताउनुभयो । बिहिबार बसेको कार्यापालिकाको बैठकले वडा नम्बर १ बाहुनीडाँडा, ४ बडहरे, ५ दुर्छिम, ८ धितुङ र ९ सल्लेको कोशी आसपासका एक/एक वटा विद्यालयको समय बिहानलाई सारेको हो । यस्तै, वडा नम्बर २ डिकुवा र ११ राजापानीको २/२ वटा विद्यालयको समय बिहानलाई तोकिएको नगर प्रमुख राईले बताउनुभयो ।
कोशी माथिका अन्य विद्यालयको समय पनि आवश्यकताको आधारमा परिवर्तन हुन सक्ने प्रमुख राईको भनाइ छ । विद्यालयसँग छलफल गरेर आवश्यकता भएमा अन्य विद्यालयको समय पनि बिहानलाई सार्न सकिने प्रमुख राईले बताउनुभयो ।

