Saturday, July 27News That Matters

आदिवासी जनजाति महासंघमा विवाद, शेर्पा र मगरको नेतृत्वमा छुट्टा छुट्टै समिति घोषणा


खोटाङ, वैशाख २१ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् खोटाङको नयाँ कार्यसमिति चयनमा विवाद भएको छ । नयाँ नेतृत्व चयनमा विवाद भएपछि फुर्वा शेर्पाको अध्यक्षतामा र एलबी मगरको अध्यक्षतामा छुट्टा छुट्टै दुई वटा समिति निर्माण भएको छ । कार्यसमिति चयनमा उब्जिएको विवाद सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । दुवै समितिले सामाजिक सञ्जालमा आफु पक्षहरुको बधाई पाइरहेका छन् ।

दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा बुधबार चौथो जिल्ला अधिवशेनको उद्घाटन गरिएको थियो । बिहिबार बन्दसत्रमा सर्वसम्मत नयाँ कार्यसमिति चयन हुन नसकेको हो । एक समुहले पुनः फुर्वा शेर्पाको नेतृत्वमा समिति निर्माण भएको भन्दै पत्रकार सम्मेलन नै गरेर जानकारी गराएको छ । अर्को समुहले निर्वतमान वरिष्ठ उपाध्यक्ष एलबी मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको सार्वजनिक गरेको छ ।

ब्यक्तिको स्वार्थको कारण निर्वाचन मण्डललाई कब्जा गरेर सबैको भावना बिपरित विधान मिचेर कार्यसमिति चयन गरिएको भन्दै विज्ञप्ति निकालेर असन्तुष्ट पक्षले मगरको नेतृत्वमा समिति सार्वजनिक गरेको हो । तर आधिकारिक शेर्पाको नेतृत्वको समिति रहेको निर्वाचन मण्डलले जनाएको छ ।

सर्वसम्मत समिति चयन गर्ने भनेर सबै जातीयगत संस्थाले हस्ताक्षर गरेपछि बहुमतको आधारमा शेर्पाको अध्यक्षतामा नयाँ समिति घोषणा गरिएको निर्वाचन मण्डलका संयोजक नारायणदास राईले बताउनुभयो । निर्वाचन नगरी सर्वसम्मत समिति निर्णय गर्ने सबैको जोड थियो । बहुमतले शेर्पाको अध्यक्षतामा नयाँ समिति घोषणा गर्न सिफारिस गरेपछि निर्वाचन मण्डलले घोषणा गरेको राईको भनाइ छ ।

निर्वाचन मण्डलले घोषणा गरेको समितिमा अध्यक्षमा पुनः फुर्वा शेर्पा, वरिष्ठ उपाध्यक्ष एलबी मगर, महिला उपाध्यक्षमा पदमकुमारी सैंजू, खुला उपाध्यक्षमा पर्शुराम तामाङ, सचिवमा सप्तमणि राई, सहसचिवमा वीरेन गुरुङ, कोषाध्यक्षमा किसन भुजेल रहेका छन् । यस्तै, परिषद्को सदस्यहरुमा निर्मल राई, रविन सुनुवार, सँगीता राई, यादव श्रेष्ठ, चित्रकला भुजेल र भुवन राईलाई चयन गरिएको जनाएको छ ।

निर्वाचन मण्डलले घोषणा गरेको समिति विधान र सबैको भावना विपरित भएको भन्दै वरिष्ठ उपाध्यक्षमा राखिएका मगरले आफ्नै नेतृत्वमा समानान्तर समिति निर्माण गरेका हुन् । किरात याक्थुम चुमलुङ, नेपाल मगर संघ जिल्ला कार्यसमिति र नेपाल माझी उत्थान सेवा समाज खोटाङले विज्ञप्ति निकाल्दै समानान्तर समिति घोषणा गरेको छ ।
अध्यक्षमा एलबी मगर, वरिष्ठ उपाध्यक्षमा अस्मिता लिम्बू, खुल्ला उपाध्यक्षमा श्याम बहादुर माझी, महिला उपाध्यक्षमा रेश्मा राई चयन गरिएको छ । यस्तै सचिवमा उदिम चाम्लिङ, सहसचिवहरु माकृष्ण कुमारी तामाङ, सन्तोष श्रेष्ठ र प्रकाश मगर, कोषाध्यक्षमा मनिला सुनुवार रहेको बताइएको छ । समितिको वरिष्ठ सल्लाहकारमा रविन खम्बु र सल्लाहकारमा गोमा राईलाई राखिएको छ । यस्तै, सदस्यहरुमा शर्मिला माझी, राजन मगर, सबिना राई, उपेन्द्र राई, सजना भुजेल, आकृति भुजेल, होम बहादुर मगर, गोपाल राई, आसमान लिम्बु र गङ्गा मगर रहेका छन् ।

निर्वाचन मण्डलले आफुहरुले घोषणा गरेको शेर्पाको नेतृत्वको समिति आधिकारिक भएको बताइरहदा यता अर्को पक्षले मगरको नेतृत्वको समिति आधिकारिक रहेको बताउछ । निर्वाचन मण्डललाई कब्जा गरेर केही ब्यक्तिको स्वार्थमा समिति घोषणा गरिएको भन्दै आफुहरुको समितिले केन्द्रबाट आधिकारिकता पाउने उदिम चाम्लिङको दावी छ । उता आफुहरुले घोषणा गरेको समिति आधिकारिक रहेको निर्वाच मण्डलको दावी छ ।

यसैबिच, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला समन्वय परिषद्को विद्यार्थी संगठन पनि चयन गरिएको छ । सोनामहाङ राईको अध्यक्षतामा २० सदस्यीय जिल्ला समन्वय परिषद् सर्वसहमत चयन भएको हो । विद्यार्थी संगठनको अध्यक्षमा निर्वाचित राईले मगरको अध्यक्षताको मुल समितिलाई समर्थन गरेका छन् । यस्तै, युवा महासंघका अध्यक्ष भुपेन्द्र राईले पनि मगरकै समितिलाई समर्थन गरेका छन् ।