Thursday, April 16News That Matters

विद्यालय गएका खोटाङका दुई बालक कहिले घर नफर्किने गरी खोलामा अस्ताए

खोटाङ, भदौ ८ । विद्यालय गएका खोटाङका दुई बालक कहिले घर नफर्किने गरी अस्ताएका छन् । गाउँकै खोलाले उनीहरुको ज्यान लिएको छ । विद्यालयबाट घर फर्कने क्रममा दुई बालको खोलामा डुबेर मृत्यु भएको हो ।

ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका भोजकुमार राईका ९ वर्षका छोरा राज राई र सोही गाउँका टंकराम राईको ११ वर्षका छोरा अर्जुन राईको खोलामा डुबेर मृत्यु भएको हो । स्थानीय चङ्खु खोलाको दहमा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको हो । साविकको राखाबांदेल–६ खिरुका राज सोही ठाउँमा रहेको जनहित प्राविमा कक्षा ४ मा र अर्जुन कक्षा ५ मा अध्ययनरत थिए । शुक्रबार स्कुलबाट घर फर्कनेक्रममा पौडी खेल्न दहमा पसेका दुई बालकको दुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो ।

चङ्खु खोला हिउँदमा सानो भए पनि वर्षामा ठूलो हुने गरेको छ । स्थानीयले हिउँदको समयमा गाईवस्तुलाई पानी खुवाउनका लागि दह बनाएका थिए । अहिले वर्षाको पानीले खोलाको सतह सँगै बढेको दहमा पस्दा दुई छात्रले ज्यान गुमाएका हुन् ।

घर र विद्यालयको बिचमा पर्ने चङ्खु खोलामा वारपार गर्न झोलुङ्गे पुल छ । तर विद्यालयबाट सँगै घर फर्किरहेका चार विद्यार्थीमध्ये छात्रद्धय भने ‘गर्मी भयो’ भन्दै पौडी खेल्नका लागि पुलबाट करिब ५० मिटर तल दहमा झरेका थिए । सँगै रहेका दुई विद्यार्थी भने पुलमै बसेर रमिता हेरिरहेका थिए । पौडी खेल्न पसेका बालक डुबेपछि पुलमा बसेर हेरिरहेका विद्यार्थीले गाउँमा खबर पु¥याएको स्थानीय पुरुषोत्तम राजभण्डारीले बताउनुभयो ।

घटनाको विषयमा जानकारी आए लगत्तै इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीको टोलीले घट्नास्थल पुगेर कानुनी प्रकृया पुरा गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।