Saturday, November 9News That Matters

रावा बेसीमा वडा स्तरीय भलिबल प्रतियोगिता हुँदै, जनप्रतिनिधि र कर्मचारी पनि भिड्ने


खोटाङ, कात्तिक ३ । खोटाङको रावा बेसी गाउँपालिका–२ खार्पामा एक लाख पुरस्कार राशिको पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा खार्पा खेलकुद विकास समितिले वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।

शुभदिपावली एवं छठ पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगिता शारदा माध्यमिक विद्यालय खार्पाको मैदानमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पालिका भित्रका वडाले मात्र सहभागि जनाउन पाउने छन् । रावा बेसी गाउँपालिकाले गरेक वर्ष वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । यस वर्ष वडा नम्बर २ खार्पामा सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिका भित्रको वडा स्तरीय भलिबल प्रतियोगिताको प्रथम हुने टिमले नगद एक लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो, तेस्रो र चौथो हुने टिमले क्रमश ७० हजार, ४० हजार र २० हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडीहरुलाई १÷१ हजार नगदसहित प्रमाणपत्रले सम्मान गरिने खार्पा खेलकुद विकास समितिले जनाएको छ ।

यस्तै, भलिबलसँगै ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको छ । रावा बेसी गाउँपालिका भित्रका खेलाडीले मात्र सहभागि जनाउन पाउने छन् । ब्याडमिन्टनतर्फ प्रथम, दोस्रो, तेस्रो र चौथो हुने टिमलाई क्रमश १० हजार, ७ हजार, ५ हजार र २ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै, खार्पा वडा भित्रका नागरिकले मात्र सहभागि जनाउन पाउने गरी सामुहिक नृत्य प्रतियोगिता पनि आयोजना गरिएको छ । नृत्यमा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने टिमलाई क्रमश नगद ६ हजार, ४ हजार, २ हजार र १ हजारसहित प्रमाणपत्र प्रदान गरिने खार्पा खेलकुद विकास समितिका अध्यक्ष इन्द्र बहादुर राईले बताए ।

जनप्रतिनिधि र कर्मचारीबीच प्रतिस्पर्धा

सोही कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीकोसमेत भलिबल प्रतियोगिता आयोजना गरिएको छ । रावा बेसी गाउँपालिका भित्रका निर्वाचित जनप्रतिनिधिको टिम र कर्मचारीको टिम प्रतिस्पर्धाका लागि मैदान उत्रिने छन् । विजयी हुने टिमले खसी पुरस्कार पाउने आयोजले जनाएको छ ।