
खोटाङ, माघ २० गते । खोटाङमा करिब १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका ९ हजार ९९५ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको हो । माघ २२ गतेबाट लगाइने खोप अभियानको तयारी पुरा भएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।
माघ २२ देखि फागुन २७ गतेसम्म कक्षा ६ देखि १० कक्षामा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेर समुहका किशोरीलाइ एचपीभी खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जिवन चौलागाइले बताउनुभयो ।
अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षणसँगै आवश्यक सम्पुर्ण तयारी पुरा भएको स्वास्थ्य कार्यालयले आइतबार सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रम आयोजना गरेर जानकारी दिएको छ ।
कार्यालयका प्रमुख चौलागाइका अनुसार जिल्लाका ९ हजार ९९५ जना किशोरीलाई खोप लगाइने लक्ष्य राखिएको छ । पाठेघरको मुख क्यान्सर हुन नदिन खोप लगाउनु एक मात्र उपाय भएकाले खोपबाट कोही पनि किशोरी छुट्न नहुने उहाँको जोड छ । सोही अनुसार जिल्लाका सबै सरोकारवाला निकायले खोप अभियानलाई सफल बनाउन प्रमुख चौलागाइको आग्रह छ ।
खोप अभियान सम्पन्न गर्न २७४ खोप केन्द्रमा ५४८ स्वयमसेवक र १०१ जना सुपरिर्वेक्षक परिचालन गरिएको जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभयो ।
दुई नगरपालिका र आठ गाउँपालिका गरी दश वटा स्थानीय तह रहेको जिल्लामा दुई चरण गरेर खोप अभियान सञ्चालन हुनेछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, रावा बेसी गाउँपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माघ २२ गतेदेखी २६ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । यस्तै, खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा माघ २३ गतेबाट २७ गतेसम्म पाठेघर मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।