Saturday, April 19News That Matters

भवन र जनशक्ति नहुँदा जिल्ला अस्पताल खोटाङमा आइसियु प्रयोग विहिन

खोटाङ, चैत २ । खोटाङको एक मात्र ठूलो अस्पताल जिल्ला अस्पतालमा अहिलेसम्म सघन उपचार कक्ष (आइसियु) छैन । आइसियुका उपकरण आएपनि जडान गर्ने ठाउँ र जनशक्ति नहुँदा थन्किएर बसेको छ । जिल्लाको सबै भन्दा ठुलो अस्पतालमा आइसियु सेवा नुहँदा जटिल खालका बिरामीलाई जिल्ला बाहिर लानु पर्ने बाध्यता छ ।

कोभिडको समयमा जिल्ला अस्पताल खोटाङलाई पाँच बेड सञ्चालनका लागि आइसियुको उपकरण आएको अस्पताल प्रमुख डा. रुपेश संग्रौलाले बताउनुभयो । तर, जडान गर्ने ठाउँ र सञ्चालनका लागि जनशक्ति नहुँदा उपकरणहरु स्टोरमा थन्किएको उहाँको भनाइ छ । आइसियु सेवा सञ्चालन नहुँदा जटिल खालका बिरामीलाई बाहिर रेफर गर्नु पर्ने बाध्यता रहेको डा. संग्रौलाले बताउनुभयो ।

अस्पतालबाट रेफर भएका कतिपय बिरामीहरुको अन्य अस्पताल जादाजादै बाटैमा मृत्यु भएको छ । आर्थिक अवस्था राम्रो हुने परिवारले हेलिकप्टर चार्टर गरेर बिरामी सुविधा सम्पन्न अस्पतालमा लाने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले सुविधा सम्पन्न अस्पताल पुग्न नपाइ बाटैमा ज्यान गुमाएका छन् ।

हाल जिल्ला अस्पताल खोटाङ १५ शैयामा सञ्चालन भइरहेको छ । सुविधा सम्पन्न भवन नहुँदा अस्पताल साँघुरो कोठाबाट सेवा दिन बाध्य छ । आइसियुको उपकरण जडान गर्ने ठाउँ नभएको अस्पताल प्रमुख डा. संग्रौलाले बताउनुभयो । ठाउँसँगै आइसियु सञ्चालनका लागि जनशक्तिको पनि अभाव रहेको छ । एनेसथेसियलिष्ट विशेषज्ञ चिकित्सकसहित अन्य तालिम प्राप्त जनशक्ति भएमा मात्र आइसियु सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । आइसियु सञ्चालनका लागि आएका बेडहरु मात्र अस्पतालले प्रयोग गर्दै आएको छ । भेन्टिलेटरसहितका अन्य उपकरणहरु स्टोरमा थन्किएका छन् ।

जिल्ला अस्पताल खोटाङको स्टोरमा थन्किएको आइसियुको उकरणहरु ।

१५ शैयामा सञ्चालन भइहरेको जिल्ला अस्पताल खोटाङलाई ५० शैयामा अपग्रेड गर्ने गरी भवन निर्माणाधिन छ । तर, सम्झौता मिति पटक पटक सकिदा पनि निमार्ण कम्पनीको लापारबाहिको कारण अस्पताल भवन निर्माण सम्पन्न भएको छैन् । श्याम सुन्दर/रामसागर/नेपाल फूलवारी जेभी अनामनगर काठमाडौंले ३० महिनामा भवन बनाईसक्ने गरी २०७८ असार २४ गते सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगासँग भ्याटसहित २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँमा सम्झौता गरेको थियो । जेभीले सम्झौता अनुसार २०८० पुषमा भवन बनिसक्नु पथ्र्याे । सम्झौता म्याद गुजारेर पहिलो पटक ११ महिना थपेको म्याद पनि गत मङ्सिर २९ गते सकिएको छ । भवन निर्माण सम्पन्न भएको छैन् ।

निर्माण सम्पन्न नभएको अस्पतालको भवन