खोटाङ, चैत ९ । खोटाङमा दुई फरक घटनामा दुई जनाको मृत्यु भएको छ । घरको बार्दलीबाट लडेर एक बालिकाको मृत्यु भएको छ भने चट्याङ लागेर एक महिलाको ज्यान गएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीका अशोक पोखरेल र कुमारी ढुंगानाको २१ महिनाको छोरी अनुसोया पोखरेलको बार्दलीबाट लडेर मृत्यु गएको हो । यस्तै, जिल्लाको केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर ज्यान गएको हो ।
जिल्ला सदरमुकाम दिक्तेल रत्नपार्क चिल्ड्रेनपार्कस्थित एक घरमा कोठा भाडामा बस्दै आएका पोखरेल दम्पतीको छोरी शुक्रबार साँझ बार्दलीबाट लडेको नातेदार डिएसपी पोखरेलले जानकारी दिनुभयो । बार्दलीबाट ढलान गरेको रोडमा लडेकी बालिका अनुसोयाको बाहिरी चोट भने देखिएको थिएन । उनलाई उपचारको लागि तत्काल जिल्ला अस्पताल लगिएको थियो । अस्पतालले काठमाडौंस्थित ट्रमा सेन्टर अस्पतालमा रेफर गरेपछि सुमो गाडीमा काठमाडौं उपचारको लागि पठाइएको पोखरेलले बताउनुभयो ।
उपचारको लागि काठमाडौं लगिएको बालिकाको जयराम पुगेपछि राती करिब ११ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मृत्यु हुने बालिका पोखरेल दम्पतीको पहिलो एक्लो सन्तान हुन् । हाल उनका बुवा अशोक पोखरेल काठमाडौंमा बस्दै आएका थिए । जिल्लास्थित एक संस्थामा कार्यरत श्रीमती कुमारी ढुंगाना छोरीसहित दिक्तेलमै बस्दै आउनुभएको बताइएको छ । शुक्रबार साँझ आमा भित्र खाना पकाउदै गर्दा छोरी बाहिर आएर बार्दलीबाट लडेकी थिइन् ।
यस्तै, शनिबार बिहान राती करिब ४ः३० बजेको समयमा हर्कराज राईको श्रीमती दिलकुमारीको चट्याङ लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पानी परेर सामान भिज्न थालेपछि उठान भन्दै घरको आँगनमा निक्लिएको समयमा दिलकुमारीलाई चट्याङ लागेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) प्रतिक बिष्टले बताउनुभयो ।
चट्याङ लागेर घटना स्थलमै ज्यान गएपछि स्थानीय जनप्रतिनिधिले शनिबार बिहान ७ः३० बजे प्रहरीलाई खबर गरेका थिए । खबर आए लगत्तै इलाका प्रहरी कार्यालय बाक्सिलाबाट प्रहरी टोली घटना स्थलमा गएको छ । आवश्यक कानुनी प्रक्रिया पुरा गर्न जिल्लाबाट प्रहरी निरीक्षकको टोली पनि घटना स्थलमा गएको छ ।