राजकुमार सरगम (भट्टराई)
खोटाङ, असार ६ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विविध शिर्षकमा १६ लाख बढी खाना र खाजामा मात्र खर्च गरेको पाइएको छ । आर्थिक वर्ष २०८०/०८१ को महालेखा परीक्षकको कार्यालयले निकालेको गाउँपालिकाको लेखा परीक्षण प्रतिवेदनमा गाउँपालिकाले खाना र खाजामा विविध शिर्षकबाट १६ लाख ३६ हजार ७८५ रुपैयाँ खाना र खाजामा मात्र खर्च गरेको जनाएको छ ।
गाउँपालिकाले खर्च गर्दा मितव्ययिता अपनाएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ । एक आर्थिक वर्षमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कर्मचारी पदाधिकारी बैठक भत्ता, अनुगमन तथा भ्रमण खर्च, कर्मचारी प्रोत्साहन तथा इन्धन र विविधमा १ करोड २४ लाख ८१ हजार खर्च गरेको छ । विविध शिर्षकमा १६ लाख ३६ हजार ७८५ रुपैयाँ खाना र खाजामा मात्र खर्च गरेको छ ।
कर्मचारी पदाधिकारी बैठक र अन्य भत्तामा ३८ लाख ४० हजार खर्च देखिन्छ । अनुगमन मुल्याङ्कन र भ्रमण खर्चमा ३१ लाख ३८ हजार, इन्धन खर्च २८ लाख १० हजार रहेको प्रतिवेदनमा उल्लेख छ । विविध खर्च २३ लाख ५८ हजार र विविध कार्यक्रम खर्च ३ लाख ३५ हजार रहेको महालेखाको प्रतिवेदनमा भनिएको छ ।
एउटै कार्यक्रममा १ लाख बढीको खाना खाजा
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले २०८१ जेठ ५ गते सञ्चालन गरेको गाउँसभाको चौथो अधिवेशनमा १ लाख ४ हजार २२५ रुपैयाँको खाजा तथा खानाको लागि मात्र खर्च गरेको जनाएको छ । पालिकाले कार्यक्रम गर्दा कोशी प्रदेश सरकारको सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धि निर्देशिका, २०७५ को अधिनमा रहेर मितव्ययी तरिकाले कार्यक्रम सञ्चालन गर्नु पर्ने प्रतिवेदनमा उल्लेख छ ।
मृत्यु भइसकेका ब्यक्तिको खातामा भत्ता निकासा
लेखा परीक्षण प्रतिवेदन अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिकामा मृत्यु भइसकेको ब्यक्तिको नाममासमेत भत्ता निकासा भएको पाइएको छ । लेखा परीक्षणको क्रममा केही वडाहरुको सामाजिक सुरक्षा भत्ता पाउनेहरुको विवरण नमुना छनोट गरी हेर्दा मुत्यु भइ सकेका ब्यक्तिहरुको खातामा समेत भत्ता निकासा भएको देखिएको प्रतिवेदनले जनाएको छ ।
वडा नम्बर १ को ३ जना, २ को ४ जना, ३ को १ जना, ४ को २ जना, ५ को २ जना, ६ को एक जना, र ७ को ३ जना मृत्यु भइसकेका ब्यक्तिको खातामा भत्ता निकासा भएको देखिएकाले छानबिन गरी उक्त ३ लाख ७ हजार ६२५ रुपैयाँ रकम असुल गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ ।
इन्धन एवं मर्मत खर्च
महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षण प्रतिवेदन अनुसार दिप्रङ चुइचुम्मा गाउँपालिकामा सवारी लगबुक सवारी प्रयोगकर्ताको नाम, सवारी चढ्नेको नाम र सवारी चलेको दुरी उल्लेख नगरी इन्धनमा २८ लाख १० हजार खर्च भएको छ । गाउँपालिकाले गरेको उक्त खर्च वास्तविक एकिन गर्न नसकिएको प्रतिवेदनमा उल्लेख छ ।
एस्तै, सवारी साधन मर्मत तथा मेशिनरी औजार मर्मत सम्भार तथा सञ्चालनमा ४४ लाख ५ हजार ६८७ रुपैयाँ पालिकाले एक आर्थिक वर्षमा खर्च गरेको छ । मलेप फारामहरुको प्रयोग गरेर खर्च गर्नु पर्नेमा गाउँपालिकाले नियम नमानेको प्रतिवेदनमा भनिएको छ ।
नियम विपरीत कर्मचारी नियुक्ति
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ (८) विपरीत गाउँपालिकाले ७ जना सहायक कम्प्युटर अपरेटर महिनाको २५ हजार तलबमा राखेको देखिएको लेखा परीक्षण प्रतिदेवनमा भनिएको छ । ऐनको व्यवस्था विपरीत प्रदेश किताब खानामा पद दर्ता स्विकृत नहुँदै कर्मचारी नियुक्त गरी भुक्तानी गर्ने कार्य नियमसम्मत नभएकाले पालिकाले २२ लाख ७५ हजार रकम अनियमित गरेको महालेखाले जनाएको छ ।
विद्यार्थी छात्रवृत्ति नियम विपरीत
गाउँपालिकाको सामुदायिक विद्यालयबाट एसईईमा विज्ञान, गणित, अंग्रेजी, नेपाली विषयमा न्युनतम विषयगत बि ग्रेड प्राप्त गरी एकमुष्ट न्यनुतम ३ जिपिए ल्याइ प्राविधिक शिक्षा अध्धयन गर्ने छात्र/छात्रा मध्ये एक जनालाई मात्र छात्रवृत्ति उपलब्ध गराइने व्यवस्था रहेकोमा गाउँपालिकाले महेन्द्रदोय माविका एक छात्रलाई गणित विषयमा सि प्लस जिपिए प्राप्त गरेको भएपनि छात्रवृत्ति उपलब्ध गराएको देखिएको प्रतिवेदनमा भनिएको छ । कार्यविधि विपरीत न्यनतम जिपिए प्राप्त नगरेको विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने कार्य नियम अनुसार नदेखिएकाले पालिकाले २ लाख रकम अनियमित गरेको महालेखाले जनाएको छ ।
औषधि खरिद
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ५३ लाख ११ हजार ४७१ रुपैयाँको औषधि खरिद गरेको छ । आपूर्ति हुने औषधि तथा औषधिजन्य सामग्रीमा उल्लेखित सूचना पूर्णरुपमा रहेको छैन् भने औषधिको प्रयोग र मौज्दात समेत यकिन नभएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । बोलपत्रको माध्यमबाट खरिद गर्नु पर्नेमा पालिकाले सोझै नियम विपरीत औषधि खरिद गरेको महालेखाले जनाएको छ ।
मापदण्ड बेगर खर्च
स्थानीय पाठ्याक्रम निर्माणको लागि मस्यौदा समितिको बैठक, मस्यौदा तयारी, निर्माण र टाइपिङ् तथा प्रिन्टिङ र खाना खाजा बापत ४ लाख ६८ हजार र विद्यालयको लागि शैक्षिक पात्रो प्रकाशनको लागि बैठक, खाका निर्माण, अन्तिम खाका तयारी, तथ्याङ्क तथा सुझाव सङ्कलन, छपाइ स्टेशनरी र खाना बापत २ लाख ७८ हजार गाउँपालिकाले भुक्तानी गरेको छ । कुन कामको लागि कति भुक्तानी गर्ने भन्ने खर्चको मापदण्ड बेगर बिल पेश गर्नुपर्ने काममासमेत भर्पाइका आधारमा भुक्तानी गर्नु नियम अनुसार नभएको प्रतिवेदनमा भनिएको छ । उक्त ७ लाख ४६ हजार ८३० रुपैयाँ रकम अनियमित भएको महालेखाले जनाएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कायम बेरुजु १ करोड २२ लाख ५ हजार ५५८ रुपैयाँ रहेको छ । असुल गर्नुपर्ने ५ लाख ४७५ रुपैयाँ, अनियमित भएको ८० लाख ३३ हजार ५८३ रुपैयाँ, प्रमाणका कागज पेश नभएको ३१ लाख ७४ हजार ५०० रुपैयाँ र पेश्की ६ लाख ७२ हजार बेजु रहेको महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।