राजकुमार सरगम (भट्टराई)
खोटाङ, असार ८ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधिको सुविधामा एक वर्षमा १ करोड २२ लाख ६४ हजार खर्च भएको पाइएको छ । महालेखा परीक्षको कार्यालयको लेखा परीक्षण अनुसार आर्थिक वर्ष २०८०/०८१ मा उक्त खर्च भएको प्रतिवेदनमा भनिएको छ । नगरपालिकाका मेयर उपमेयरदेखि वडा सदस्यसम्मको सुविधा खर्चमा १ करोड २२ लाख ६४ हजार खर्च भएको छ । जुन नगरपालिकाको आन्तरिक आयको ९९.५ प्रतिशत हो । प्रतिवेदन अनुसार पालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँडको रकमबाट ६८ प्रतिशत चालु र २७ प्रतिशतमात्र पुँजिगत निर्माणमा खर्च भएको देखिन्छ । यसबाट पालिकाले विकास निर्माण कार्यक्रम सञ्चालनमा न्यून खर्च गरी प्रशासनिक कार्यमा बढी खर्च गरेको महालेखाले जनाएको छ ।
मितव्ययिता नपनाइ अत्याधिक खर्च
महालेखा प्रतिवेदन अनुसार कर्मचारी तथा पदाधिकारी बैटक भत्ता, अनुगमन तथा भ्रमण खर्च, कर्मचारी प्रोत्साहन तथा इन्धन र विविधमा नगरपालिकाको खर्च २ करोड ११ लाख ४५ हजार रहेको छ । एक वर्षमा कर्मचारी पदाधिकारी बैठक र अन्य भत्तामा ७९ लाख १० हजार खर्च भएको छ । यस्तै, अनुगमन मुल्याङ्कन र भ्रमण खर्च ४७ लाख ४६ हजार, विविध खर्च २७ लाख १३ हजार, कर्मचारी प्रोत्साहन र फिल्ड भत्ता ६ लाख २५ हजार र विविध कार्यक्रम खर्च ४ लाख ८४ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नियम पालना नगरी इन्धन र मर्मतमा खर्च
महालेखाको प्रतिवेदन अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले इन्धन र मर्मत खर्च नियम अनुसार गरेको छैन् । सवारी लगबुक सवारी प्रयोगकर्ताको नाम, सवारी चढ्नेको नाम र सवारी चलेको दुरी उल्लेख नगरी इन्धनमा खर्च गरेको भनिएको छ । एक वर्षमा नगरपालिकाले इन्धनमा ४६ लाख ६७ हजार खर्च गरेको छ । नियम अनुसार नगरेकााले उक्त खर्चको वास्तबिक एकिन गर्न नसकिएको महालेखाले जनाएको छ ।
यस्तै, मलेप फाराम नराखी सवारी साधन मर्मत तथा मेशिनरी औजार मर्मत सम्भार तथा सञ्चालनमा ६१ लाख ६ हजार खर्च महालेखा प्रतिवेदनमा भनिएको छ ।
कर्मचारी प्रोत्साहन भत्ता
स्थानीय तहले कानुन तथा कार्यविधि नबनाएर खर्च गर्नु पर्नेमा कार्यविधिनै नबनाइ नगरपालिकाले एक वर्षमा ६ लाख २५ हजार कर्मचारी प्रोत्साहन भत्ता खर्च गरेको छ । उक्त कार्य मितव्ययि नदेखिएको प्रतिवेदनमा भनिएको छ ।
नियम बेगर करारका कर्मचारी नियुक्ति
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ (८) विपरीत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करारमा कर्मचारी नियुक्त गरेको महालेखाले भनेको छ । आवश्यक जनशक्तिको माग आकृती फाराम प्रदेश लोकसेवामा पठाई कर्मचारी पूर्ति गर्नुपर्छ । तर, नगरपालिकाले नियम विपरीत इन्जिनियर १, सव–इन्जिनियर ४ जना, असिष्टेण्न सव–इन्जिनियर १ जना, नायब प्राविधिक सहायक ५ जना, सहायक कम्प्युटर अपरेटर १ जना र कम्प्युटर अपरेटर १ जना नियुक्ति गरेको छ । नियम विपरीत नियुक्ति भएका उक्त करारका कर्मचारीको तलबमा २९ लाख १८ हजार खर्च भएको प्रतिवेदनमा भनिएको छ ।
प्रमाण बेगरको सातु उद्योग
सातु उद्योग व्यवस्थापन तथा संचालन अन्तरगत बजार मूल्य भन्दा २० प्रतिशत कम मुल्यमा सातु उत्पादन गरी बिक्री गर्नको लागि नगरपालिकाले भिन्तुना कृषि तथा पशुपंक्षि फर्मलाई मेसिनरी औजार तथा सातु बनाउने सामाग्रीको लागि ३ लाख ९५ हजार भुक्तानी गरेको छ । तर, स्थलगत अवलोकन गर्दा मेसिन जडान गरेको तथा उत्पादन गरेको नदेखिएको महालेखाले भनेको छ । मेसिन जडान गरी सातु उत्पादन भएको प्रमाण पेस गर्नुपर्ने नभए रकम असुल गर्ने महालेखाले जनाएको छ ।
मृत्यु भएका ब्यक्तिको खातामा भत्ता निकासा
कार्यालयको अभिलेख अनुसार मृत्यु भएका लाभग्राहीको लगत अद्यावधिक नगरी मृत्यु भएका २ जना ब्यक्तिको खातामा सामाजिक सुरक्षा भत्ता निकासा भएको पाइएको छ । महालेखाको प्रतिवेदन अनुसार मृत्यु भएका वडा नम्बर ५ को एक जना र १४ को एक जना गरी २ जनाको खातामा निकासा भएको ४७ हजार ५६० रुपैयाँ रकम फिर्ता ल्याउनु पर्ने प्रतिवेदनमा उल्लेख छ ।
डिपिआरमा बढी भुक्तानी
मझुवागढी देविस्थानको डिपिआर निर्माणको लागि साउथ एसियन टुरिजम एड्भाइजर्स एण्ड इन्जिनियरिङ कन्सल्टेन्ट प्रालिलाई कबोल रकम रु १३ लाख १३ हजार २५० रुपैयाँमा २०८० असोज ७ गते सम्झौता भएको थियो । तर बढी व्ययभार हुनेगरी भुक्तानी भएकाले १ लाख २३ हजार ७५० रुपैयाँ असुल गर्नु पर्ने महालेखाको प्रतिवेदनले जनाएको छ ।
नियम विपरीत सोझै खरिद
खरिद नियामावली, २०६४ को नियम ८५ (१ख) मा एक आर्थिक वर्षमा एकै पटक वा पटक–पटक गरी १० लाखभन्दा बढी रकमको एउटै ब्यक्ति,फर्म,कम्पनी वा संस्थाबाट सोझै गर्न नपाइने व्यवस्था छ । तर पालिकाले उल्लेखित सिमाभन्दा बढी हुने गरी रसिक एण्ड रोहन सप्लायर्सबाट १९ लाख १९ हजार १०० रुपैयाँको, आचार्य फोटोकपी एण्ड कम्प्युटर मर्मत केन्द्रबाट २२ लाख ८० हजार ८८० रुपैयाँको, पि.डि.के घिमिरे टेड एण्ड सप्लायर्सबाट १४ लाख ८४० रुपैयाँको र हाम्रो ए.टु जेड अर्डर एण्ड सप्लायर्सबाट २१ लाख ७ठ हजार ४४० रुपैयाँको गरी जम्मा ७७ लाख ७८ हजार २६० रुपैयाँको सोझै खरिद गरेको प्रतिवेदनमा भनिएको छ ।
यस्तै, खरिद कानुनमा भएको व्यवस्थाको पालना नगरी ९ लाख ४७ हजार रकम अनियमि गरेको प्रतिवेदनले जनाएको छ । आचार्य फोटोकपी एण्ड कम्प्युटर मर्मत सेन्टरबाट ३ लाख ९७ हजारमा खरिद गरिएको ल्याप्टप,प्रिन्टर र वडा नम्बर १४ को लागि रोयल मोटर्स इटहरी प्रा.लिबाट मोटरसाइकल ५ लाख ५० हजारमा खरिद गरिएको रकम अनियमित भएको महालेखाले जनाएको छ ।