Thursday, March 5News That Matters

नगरपालिकाले बिर्सिएको विद्यालयनै प्रथम भएपछि…

एसईईमा सबै भन्दा धेरै विद्यार्थी उत्तिर्ण गराएर नगर प्रथम पुरस्कार ग्रहरण गर्दै ज्योति मावि जालपा

राजकुमार सरगम (भट्टराई)
खोटाङ, असार २१ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा शनिबार भएको पुरस्कार वितरण कार्यक्रममा एउटा यस्तो दृश्य देखियो, जुन दृश्यले सबैलाई अचम्मित बनाउछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयबाट नगर प्रथम, दोस्रो र तेस्रो हुने विद्यालय र विद्यार्थीलाई पुरस्कार प्रदान गर्न सुरु गर्यो । प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई कार्यक्रमको मञ्चमा बोलाएर पुरस्कार प्रदान गरियो ।

जब विद्यालयलाई पुरस्कार प्रदान गर्ने पालो आयो । नगरपालिकाको शिक्षा शाखामा कार्यरत कर्मचारी सुबास राईले विद्यार्थी उत्तीर्ण प्रतिशतको आधारमा कालिका मावि नेर्पा प्रथम भएको भन्दै पुरस्कार ग्रहणका लागि बोलाए । पञ्चमाविलाई दोस्रो र सरस्वती माविलाई तेस्रो भएको भन्दै पुरस्कार ग्रहणका लागि बोलाइयो । तर, कार्यक्रम हलमा अचानक हल्ला भयो, सरस्वती माविका शिक्षक धनिराम राईले मञ्चमै सुनिने गरी कार्यक्रमको बिरोध गरे । नगरपालिकाले आयोजना गरेको शैक्षिक सम्मेलनको अवससरमा नगरपालिकाले पुरस्कार वितरण गरेको थियो । सम्मेलनमा नगरपालिका भरीका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष लगायतको उपस्थिति थियो ।

हलमा भएको हल्लाको निचोड थियो नगरपालिकाले वितरण गर्न लागेको पुरस्कार गलत छ । एसईईमा विद्यार्थी उत्तिर्ण प्रतिशतको आधारमा ज्योति मावि जालपा प्रथम हुनु पर्ने थियो । तर, ज्योति माविको हलमा नामनै आएन । कालिका मावि प्रथम, पञ्चमावि दोस्रो र सरस्वती मावि तेस्रो भनेर सम्मानपत्रनै नगरपालिकाले छपाइसकेको थियो । पुरस्कार वितरण गर्न लाग्दा हलमा हल्ला भएपछि नगरपालिकाको शिक्षा शाखाले गल्ती भएको भन्दै बल्ल ज्योति माविलाई प्रथम पुरस्कार लिन बोलाइयो । सम्मानपत्र पछि छपाएर दिने भन्दै नगदसहितको खाम र अर्कै विद्यालयको नाममा बनाइएको सम्मानपत्र ज्योति माविका प्रधानाध्यापकलाई दिएर तस्बिर खिचाइयो । नगरपालिकाको शिक्षा शाखामा कार्यरत राईले उत्तिर्ण प्रतिशत हिसाब गर्दा गल्ती भएको कार्यक्रममा बताए । तर, ज्याति माविलाई नियोजितरुपमा पुरस्कार प्रदान नगर्न खोजिएको थियो या उक्त विद्यालयलाई नगरपालिकाले बिर्सिएको थियो । तर, अन्तत यसरी नगरपालिकाले बिर्सिएको ज्याति माविले प्रथम पुरस्कार प्राप्त गर्यो ।

९५.४५ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएर प्रथम भएको ज्योति माविले नगद ५० हजार पुरस्कार पाएको छ । यस्तै, ९१.३० प्रतिशत विद्यार्थी उत्तिर्ण गराएर कालिका मावि नेर्पा दोस्रो भएको छ । ८६.९६ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको पञ्चमावि तेस्रो भएको छ । दोस्रो र तेस्रो हुने विद्यालयले क्रमश ३० हजार र २० हजार नगद पुरस्कारसहित सम्मानपत्र प्राप्त गरेको राईले बताएका छन् । सबै पुरस्कारमा २५ प्रतिशत कर कटाएर नगद प्रदान गरिएको राईको भनाइ छ ।

विद्यार्थी उत्तिर्ण प्रतिशतको आधारमा तेस्रो भएको पञ्चमाविले नगरको पुरस्कार अस्विकार गरेको छ । अगाडीका वर्षहरुमा नगरपालिकाले पुरस्कार प्रदान गर्दै आएको तर अघिल्लो वर्ष शैक्षिक सत्र २०८० मा पञ्चमाविका विद्यार्थी नगर प्रथमहुँदा नगरपालिकाले पुरस्कार नदिएकोकारण यो वर्षको पुरस्कार अस्विकार गरिएको पञ्चमाविका प्रधानाध्यापक लक्ष्मी प्रसाद खनालले बताए ।

समान ३.८० जिपिए ल्याएर छात्रतर्फ अनुपम आचार्य र जेमिन गुरुङ, ३.७६ जिपिए ल्याएर छात्रातर्फ एलिशा बास्तोला नगर प्रथम भएका छन् । उनीहरुले समान २५ हजार नगदसहित सम्मानपत्र पाएका छन् । यस्तै, छात्रतर्फ ३.६८ जिपिए ल्याएर डेगेन्द्र विश्वकर्मा दोस्रो र ३.६७ जिपिए ल्याएर अनुपराज आचार्य तेस्रो भएका छन् । छात्रातर्फ ३.७० जिपिए ल्याएर अञ्जली श्रेष्ठ दोस्रो र ३.६८ जिपिए ल्याएर एलिजा आचार्य तेस्रो भएका छन् । दोस्रो र तेस्रो हुने विद्यार्थीलाई जनही १५ हजार र १० हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको छ । नगर प्रथम, दोस्रो र तेस्रो हुने सबै विद्यार्थी सरस्वती माविका रहेका छन् ।

असार १९ गतेदेखि सञ्चालन गरिएको नगर शैक्षिक सम्मेलनको समापन कार्यक्रममा असार २१ गते शनिबार विद्यालय र विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, नगर प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विसन राईले पुरस्कार प्रदान गरेका हुन् ।

तीनसम्म सञ्चालन भएको शैक्षिक सम्मेलनले शैक्षिक सुधार घोषणापत्र तथा वार्षिक कार्य योजना पारित गरेको छ ।