Sunday, October 5News That Matters

हलेसीका होटलप्रति दर्शनार्थीको गुनासो

हलेसी क्षेत्र

खोटाङ, साउन ६ । त्रि–धार्मिक स्थल हलेसीमा दर्शन गर्न आएका दर्शनार्थीहरुले होटलप्रति गुनासो गरेका छन् । साउनको सोमबार हलेसीमा लाग्ने बोलबम मेलामा आएका दर्शनार्थीहरुले होटल व्यवसायीसँग गुनासो गरेका हुन् ।

हलेसीमा साउनको प्रत्येक सोमबार बोलबम मेला लाग्ने गर्छ । यस वर्षको बोलबम मेला पहिलो सोमबार साउन ५ गतेबाट सुरु भएको छ । पहिलो सोमबार देश विदेशका करिब १३ हजार दर्शनार्थीले हलेसीको दर्शन गरेका छन् । अन्य समयमा भन्दा मेलाको समयमा होटलहरुले कोठा शूल्क महङ्गो लिएको, खाना खानेलाई मात्र कोठा दिएको लगायतका गुनोसो दर्शनार्थीले गरेका हुन् । मेलाको मौका छोपेर केही होटल व्यावसायीहरुले अन्य समयमा भन्दा दर्शनार्थीबाट ५० प्रतिशतसम्म बढी भाडा लिएको उनीहरुको भनाइ छ ।

हलेसी आएका एक दर्शनार्थीका अनुसार सामान्य होटलहरुमा पनि ननएटेज कोठाको २ हजार ५ सयसम्म रकम तिर्नु पर्ने बाध्यता रहेको छ । “कोठाको रकम अरुबेला भन्दा महङ्गो तिर्नु पर्ने रहेछ । अझ खाना नखानेले कोठानै नपाइने रहेछ ।” उनले भने “खाना खाने भए मात्र कोठा हुन्छ, नत्र हुन्न, अरुनै मान्छे आउछन् ।”

हलेसी क्षेत्रमा करिब १ सयको हाराहारीमा बाससहितका होटलहरु रहेका छन् । एक पटकमा करिब ४ हजारसम्म हलेसीका होटलहरुले पाहुना राख्न सक्ने क्षमता रहेको होटल व्यवासायी संघ हलेसीका अध्यक्ष प्रकाश चन्द्र गिरीले बताउनुभयो । साउनमा बोलबमको समयमा होटलको क्षमता भन्दा झण्डै दोब्बर मानिस हलेसी आउने गरेका छन् । पहिलो सोमबार हलेसी दर्शन गर्न आएका दर्शनार्थीले होटल नपाएर अर्खौलेसम्म पुगेर बसेको उहाँको भनाइ छ । होटल नपाएर कतिपय दर्शनार्थी गाउँका घरहरुमा बास बस्न पुगेका थिए । दर्शनार्थीको गुनासो विषयमा होटल व्यवसायीसँग छलफल गर्ने गिरीको भनाइ छ ।

हलेसी दर्शनको लागि कतिपय दर्शनार्थीहरुले अघिल्लै दिनदेखि खाना नखाइ बस्ने गरेका छन् । कोठाको शूल्क तिरेपनि खाना नखानेलाई कोठा नतिने होटल व्यवासायीको भनाइले दर्शनार्थीहरु मारमा परेको बताएका छन् ।

दर्शनार्थीले गुनासो गरेपछि हलेसी तुवाचुङ नगरपालिकाले यस विषयमा अनुगनमसहित छलफल गर्ने जनाएको छ । शनिबारसम्ममा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कर कार्यालय, उद्योग वाणिज्य संघ, होटल व्यवासायी संघ सबैसँग समन्वय गरेर होटलहरुको अनुगमन गर्ने तयारी गरिएको नगरपालिकाका प्रवक्ता एवं महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताउनुभयो । होटलहरुलाई आफ्नो मूल्य सूचि राख्न अनिवार्य गराइने नगरपालिकाले जनाएको छ ।

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी विश्वप्रसिद्ध धार्मिक स्थल हो । नेपालका विभिन्न ठाउँसँगै विदेशबाटसमेत भक्तजनहरु दर्शन गर्न हलेसी आउने गरेका छन् । साउनको पहिलो सोमबार हलेसीमा गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको थियो । सामूहिकरुपमा बोलबम शब्द उच्चारण गर्दै हलेसीको दर्शन गर्न नेपालको तराइ क्षेत्र र भारतका दर्शनार्थी बढी मात्रमा आएका छन् । नेपालका विभिन्न जिल्ला विशेषगरी तराइका जिल्ला, भारत, चिन, बंगलादेश, भुटान, श्रीलंका लगायतका देशबाट दर्शनार्थीहरु विभिन्न नदीबाट ल्याइएका जल चढाउन एवं दर्शन गर्न आइरहेका छन् । आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ हलेसीमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएका जल चढाउने गरिन्छ ।

हलेसीमा देश तथा विदेशबाट आएका हिन्दू धर्मावलम्बीले नुहाएर व्रत बस्नुका साथै महादेव, पार्वती र गणेशलाई जल चढाउने गर्छन् । हलेसीमा विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुखसमृद्धिको कामना गर्दै र अविवाहिता महिलाले असल श्रीमान् पाउने कामना गर्दै पूजाअर्चना गर्ने प्रचलन छ । पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकांक्षा पूरा हुने र सुख तथा शान्ति मिल्ने विश्वास छ ।

हलेसीमा रामनवमी, शिवरात्री, बालाचतुर्दशी, तीज, साउनको सोमबार लगायत पर्वमा ठूलो मेला लाग्ने गरेको छ । अन्य समयमा पनि प्राय दैनिकरुपमा दर्शनार्थीहरु हलेसी मन्दिरको दर्शन गर्न तथा अवलोकन गर्न आउने गरेका छन् ।

धार्मिक तथा सांस्कृतिक रुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । गुफामा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरू आ–आफ्नै तरिकाले पूजापाठ गर्ने गर्छन् । हिन्दु धर्ममा आस्था राख्नेहरूले यसलाई पशुपतिनाथको रूपमा, बौद्ध धर्मावलम्बीहरू दोस्रो लुम्बिनीको रूपमा र किरात धर्मावलम्बीहरूले आदिम भूमिको रूपमा पूजाआजा गर्ने गरेका छन् । हलेसी क्षेत्रमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफा लगायतका धार्मिकस्थलमा दर्शनार्थीको भीड लाग्ने गर्छ ।