Sunday, October 5News That Matters

जन्तेढुंगाका जनप्रतिनिधि र कर्मचारीको एक वर्षमा ४५ लाख बैठक भत्ता, ३१ लाख भ्रमण खर्च

 

जन्तेढुंगा गाउँपालिकाको प्रशासनीक भवन

राजकुमार सरगम (भट्टराई ) 

खोटाङ, असार ४ । एक वर्षमा खोटाङको जन्तेढुंगा गाउँपालिकामा कर्मचारी तथा पदाधिकारी बैठक भत्ता, अनुगमन तथा भ्रमण खर्च, कर्मचारी प्रोत्साहन तथा इन्धन र विविधमा १ करोड ५३ लाख ९९ हजार खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा जन्तेढुंगा गाउँपालिकाले उक्त खर्च गरेको हो ।

एक आर्थिक वर्षमा गाउँपालिकामा कर्मचारी पदाधिकारी बैठक र अन्य भत्ता ४५ लाख २४ हजार, भ्रमण खर्च ३१ लाख ४६ हजार, इन्धन खर्च २४ लाख ९ हजार र विविध खर्च ५३ लाख २० हजार रहेको प्रतिवेदनमा उल्लेख छ । पालिकाले खर्च गर्दा सवारी गुडेको किलोमिटर उल्लेख गरी सवारी लगबुक नराखेको, भ्रमण गर्नुको कारण र उदेश्य उल्लेख गरी भ्रमण प्रतिवेदन तयार नगरेको, अनुगमन समिति बनाइ अनुगमन मुल्यांकन नगरेको तथा एउटै कार्यमा दोहोरो हुने गरी अनुगमन गरेको देखिएकाले उक्त कार्यहरु मितव्ययी तवरले सम्पादन भए नभएको एकिन गर्न नसकिएको प्रतिवेदनले भनेको छ । एक वर्षमा गाउँपालिकाको चालुतर्फ २२ करोड ५५ लाख १२ हजार खर्च भएकोमा कर्मचारी तथा पदाधिकारी बैठक भत्ता, अनुगमन तथा भ्रमण खर्च, कर्मचारी प्रोत्साहन तथा इन्धन र विविधमा भएको खर्च १ करोड ५३ लाख, ९९ हजार रहेको छ ।

नियम विपरीत कर्मचारी नियुक्ति

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३(८) विपरीत जन्तेढुंगा गाउँपालिकाले २ जना कर्मचारी नियुक्त गरी रकम अनियमित गरेको महालेखाले जनाएको छ । लेखा परीक्षण प्रतिवेदन अनुसार गाउँपालिकाले नियम विपरीत २ जना कर्मचारी नियुक्त गरेर ८ लाख ७९ हजार २१६ रुपैयाँ रकम अनियमित गरेको हो ।

डिजेल खरिदमा स्टेशनरीको बिल

जन्तेढुंगा गाउँपालिकाले स्टेशनरीको बिल पेश गरेर डिजेल खरिदमा भुक्तानी गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदन अनुसार पालिकाले पेट्रोलियम पदार्थ विक्री वितरणको अनुमती नभएको तथा मूल्य अभिवृद्धि करमा दर्ता नभएको श्रेष्ठ स्टेशनरी पसलबाट ३४ लाख १३ हजार ३५० रुपैयाँको डिजेल खरिद गरेको भन्दै भुक्तानी गरेको देखिएको जनाएको छ ।

नेपाल आयल निगमले तोकेको दर भन्दा बढी रु २०० मा डिजेल खरिद गरेकोसमेत प्रतिवेदनमा भनिएको छ । पालिकाले अनुगमन तथा नियमन गर्नुपर्नेमा आयल निगम दरभन्दा बढी दरमा अनुमती नलिएको पसलबाट आफैले नियम विपरीत डिजेल खरिद गरेको देखिएको प्रतिवेदनमा भनिएको छ । उक्त ३४ लाख १३ हजार ३५० रुपैयाँ डिजेल खरिदमा गाउँपालिकाले अनियमित गरेको महालेखाले जनाएको छ ।

अस्पतालको २ पटक डिपिआर

जन्तेढुंगा गाउँपालिकाले अस्पतालको २ पटक डिपिआर गरेर रकम अनियमित गरेको पाइएको छ । पालिकाले २०७८ सालमा परामर्श मार्फत अस्पतालको डिपिआर तयार गराएको थियो । तर, पालिकाले तयार पारेको डिपिआर स्वास्थ्य मन्त्रालयले स्विकृत नगरेको भनि पुनः आर्थिक वर्ष २०८०/८१ मा परामर्शदाता एस एशोसियट प्रालिबाट ४ लाख ९३ हजार २४५ रुपैयाँ भुक्तानी गरी डिपिआर तयार गरेको देखिएको छ । नियम विपरीत एउटै कामको लागि दोहोरो खर्च गरेर गाउँपालिकाले उक्त रकम अनियमित गरेको प्रतिवेदनले जनाएको छ ।

बालि विज्ञान अध्ययनको छात्रवृत्तिमा अनियमित

बालि विज्ञान अध्ययन छात्रवृत्ति कार्यक्रमको लागि भन्दै गाउँपालिकाले बजेट विनियोजन गरेर अनियमित गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले जनाएको छ । गाउँपालिकाले बजेट खर्च गर्दा विद्यार्थी छनोट गरेको मापदण्ड तयार नगरी, विद्यार्थी छनोट गरेको तथा के प्रयोजनको लागि कति रकम दिने निर्णय नगरी २ लाख ९८ हजार ७१५ रुपैयाँ भुक्तानी गरेको छ । उक्त रकम गाउँपालिकाले अनियमित गरेको प्रतिवेदनमा भनिएको छ ।

जन्तेढुंगा गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को समग्र कायम बेरुजु १ करोड ४२ लाख ५५ हजार ८०७ रुपैयाँ रहेको छ । असुल गर्नुपर्ने ४० लाख ३३ हजार ७२६ रुपैयाँ, अनियमित भएको ७८ लाख ३ हजार ६६६ रुपैयाँ र प्रमाणका कागज पेश नभएको ६० लाख ४३ हजार ८३ रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षको कार्यालयको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।